अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – आम जनताको विस्वास भरोसा अनि आशाले भरिएको सहकारी यतिबेला धेरैका लागि टाउको दुखाइ भएको छ । सोच्दै नसोचेको, हुनै नसक्नेगरी कसरी यस्तो अवस्था आयो भन्ने कोहि कसैले कल्पना गरेको भन्दा बाहिरको बिषय बन्न पुग्यो । जिल्लामा जति सहकारी संस्थाहरु छन् र जे जति सहकारी संस्थामा समस्याहरु आए, जुन संस्थामा समस्या आए, एकाघर परिवारका सदस्यहरुमा मात्रै समित रहि चेलेका सहकारीमा समस्य छ । छानी छानी नातागोता प्रयोग भए, बजारमा १६ प्रतिशतमा लगानी गर्न योग्य कानूनी व्यवस्थालाई वास्ता नगरी २४ प्रतिशत भन्दा बढी ब्याजदरमा रकम संकलन गरिएको छ ।
एकाघरका परिवारमा केन्द्रित गर्दै सहकारी चलाइएका छ्न, नयाँ दर्ता गरेका छन् । जो सञ्चालक समितिमा रहेको छ उसले कार्यालय आफ्नै घरमा राखेको देखिन्छ । जागिरका लागि आफ्नै भान्जा, भाई भतिज अनि बुहारी राखिएको छ । बजारबाट पैसा जम्मा गर्यो अनि ठूला ठूला रोपनीका रोपनी जग्गा खोज्न लाग्यो। कुरा मिलायो अनि योजना बनायो । ६ महिनामा जग्गा व्यवस्थापन गर्दा यति करोड आम्दानी हुने क्यालकुलेटर थिच्यो । संस्थामा मिले मिलोस नमिले पछि मिल्छ भन्यो, उसले आफुले जानेको प्रकृया पुरा समेत गर्यो, भाइ, भतिज, श्रीमती, काका, नाता गोता सबैको नाममा पैसा जोहो गर्यो वा लगानीको कागजात तयार पार्यो, जग्गामा लागनी गर्यो ।
कसैलाई पैसाको अति आवश्यक पर्यो भने मिटर ब्याजी रुपमा पैसा उपलब्ध गरायो तर ब्याज त सुन्नै नसक्ने गरी ठोक्यो । कम्पनी खोल्यो एउटा व्यवसायले पुगेन, दुई चार वटा त गर्नै पर्यो भन्दै लगानी गर्न भ्यायो । श्रीमती कतै जागिर छन भनेपनि संस्थाकै पैसाले खरिद गरेको गाडिले अफिस ल्याउने र लाने गरी डाइभर समेत व्यवस्था गरयो । आहा कति सहजताका साथ काम तमाम गर्यो है ?
सहज बेलामा, समस्या नपरेका बेलामा यस्ता समस्या केहि देखिएन वास्तै भएन भोलि के होला कस्को पैसा चलाइरहेको छु ? भोलीको अवस्था के होला ? केहि मतलब रहेन । बस उसले सोच्यो म जति बुद्धिजिवी कोहि छैन ? मलाई मेरो दिमागलाई कसले भ्याउन सक्छ ? सुकिलो मुकिलो भएर हिड्न थाल्यो । श्रीमतीको ब्यूटि पार्लर, छोराछोरीको उच्चस्तरीय विद्यालय, आमा बा को मन पनि राख्न भ्यायो तर त्यो बाउले कहिले सोधेन यो चुरीफुरी कसरी भनेर ? श्रीमतीले कहिले भनिनन यत्रो खर्च गर्ने आधार र आम्दानीका श्रोत के हुन भनेर ? छोराछोरी त उसै मख्ख हुने नै भए । छिमेकीहरु समेत के कसरी काम गर्दैछ रवाफ नै अर्कै देखिन्छ भन्ने बिषयमा चुपचाप रहे । यहाँ त को कम छ र ? सहकारी ऐन अनुसार १६ प्रतिशत भन्दा बढी ऋण लगानी समेत गर्न पाइदैन भन्ने कानूनलाई चूनौती दिदै सञ्चालकले त गल्ति गरे गरे, तर शेयर सदस्य पनि कहाँ कमी छन् र ? समुदायस्तरमा चलेका सहकारी संस्थाको आवधिक बचतमा जम्मा गरेको पैसा उल्टो ब्याज दरमा थप ब्याज तिरेर अवधि समापन नभै ब्याजको लोभले उत्पादनमूलक कार्य नगरेका सहकारी संस्थामा जम्मा गरेका देखियो ।
अहिले आएर समस्या आई सकेपछि सरकारी निकाय, अभियान, लगायतका निकायमा दैनिक धाइरहेको देखिन्छ । थोरै लोभका कारण अहिले समस्या देखिएको र समस्या समाधानका लागि विभिन्न निकायमा धाइरहेको देखिन्छ ।
समग्र अभियान भित्र एक थरी सहकारीका ऋणी छन् जो अहिले सहकारी क्षेत्रमा समस्या आयो भनेर ऋण तिर्न पर्दैन कि भनेर बजारभरी चिया पसल देखी सार्वजनिक स्थानमा सहकारी कै नकारात्मक कुराहरु गरेर हिड्न थालेको पाइएको छ ।
समस्यामा परेका सहकारीका ऋणीले त गरे गरे तर समूदायस्तरमा आधारित भई सञ्चालन गरेका सहकारीका ऋणी पनि त्यही लाईनमा पुगेका हुन की भन्ने अनुमान सजिलै गर्न सकिन्छ ।
हिजो असहज अवस्थामा संस्थाले सहज तरिकाले ऋण लगानी गर्दा मख्ख परेका उनीहरु यही असहज समयलाई उपयोग गर्दै संस्थामा ताला लागे लागोस भन्दै पुराण बाचन गरिरहेकाले निश्चित अवधिमा ऋण तिर्छु भन्दै लगेको रकम कुनै न कुनै दिन अनिबार्य रुपमा भूक्तानी गर्नुपर्छ भन्ने बिषय थाह नभएको जस्तो किन गर्दैछन् ? यस्तालाई सम्झाईदिने कसले होला ?
यी सबै समस्याहरु भइरहँदा सहकारी अभियानकर्मी एकले अर्काको हिलो छ्याप्ने कार्य गर्न भने तछाँड मछाड गर्दै हिडिरहेका छन् । आखिर एउटै डुंगामा सयर गर्दा डुंगा डुब्दा सबै डुबिन्छ भन्ने भाँती किन अभियानकर्मीहरुमा नदेखिएको हो ? एकले बोल्यो अर्कोलाई काटी हाल्नुपर्छ, एकले गरेको राम्रो कामको प्रशंसा अर्कोले गर्नै सक्दैन उल्टो ग्रुप निर्माण गर्दै खेदो खन्छ्न । यसरी कसरी सहकारी क्षेत्रको विकास हुन्छ होला र खै ? मिल्ने भनेकै समस्यामा हो अरु बेलामा त सबैले आ आफ्ना कार्य गरेकै हुन्छन नी, त्यसैले नेतृत्व सच्चिनु पर्दछ । एकताको सन्देश दिन सक्नुपर्दछ ।
सबैलाई देखाउन मात्र भए पनि मिलेर जाँदैछन् भन्ने सन्देश दिन अब ढिला गर्नु हुदैन । केहि कमजोरीहरु छन् भने सुधार गर्नु पर्ने देखिन्छ, एकै चौतारीमा बसेर सहकारीकर्मीहरुले आत्म आलोचना गर्नुपर्ने देखिन्छ । अब सच्चिनुको विकल्प छैन अभियानकर्मी सच्चिने हो भने यस्ता समस्याहरु हल गर्न समय नै लाग्दैन ।
यसका लागि संघहरुको भूमिका के हो ? प्रदेश अनि केन्द्रको के हो ?अभियानकर्मी दन्त बजान गरि हिडिरहेका छन् , भाषण ठूला ठूला गर्दै हिड्छन्, कार्यान्वयनका तहमा के गरयौ ? अनि यो अवस्था आइरहँदा राज्य किन मौन ? जन्म गराएर पालन पोषणमा केहि भूमिका हुन्न ? हालसम्म पनि स्थानीय तहमा सहकारीका आवश्यक पर्ने कानून खासै निर्माण भएका देखिन्न, अब बनाउन ढिला भएन र ? प्रदेश सरकारले पत्राचार गर्न मिल्दैन ? कार्यान्वयन गर भन्न सकिँदैन ? भाषण मात्र गरिरहने हो भने काम कहिले गर्ने ? समस्या समाधान कहिले गर्ने ? समस्याका समाधान गरौं यहि होला अहिलेको आश्यकता ।