काभ्रेपलान्चोक – बनेपा ब्वाइज क्लब बीबीसी बनेपाको आयोजनामा आगामी असोज १९ गतेदेखि कार्तिक ४ गते सम्म ‘बनेपा महोत्सव–२०८०’ हुनेभएको छ ।
क्लबले आयोजना गर्न लागेको यो चौथो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने चौथो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ गर्न लागिएको क्लबले जनाएको छ ।
“खेलाडी पाल्न, तालीम सञ्चालन गर्न र कुनै पनि खेलमा भाग लिन पठाउनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रत्येक वर्ष बनेपा महोत्सव गर्दै आएका छौंँ”, क्लबका अध्यक्ष महेश कर्माचार्यले भन्नुभयो । उहाँले राष्ट्रियस्तरको खेलहरुमा आफ्नो दरिलो सहभागिता जनाउँदै काभ्रे जिल्लालाई पहिचान दिन सफल भएको उल्लेख गर्नु भयो । महोत्सवले व्यापार व्यवसाय लाई प्रवर्द्धन गर्ने उदेश्य लिएको छ ।
मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सयभन्दा बढी व्यापारिक कक्ष रहने आयोजकले जनाएको छ । साथै बालबालिकालाई मनोरञ्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकाहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा गर्न लागिएको महोत्सव असोज १९ गते देखी कार्तिक ४ गते सम्म चल्नेछ । महोत्सवमा नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिताको साथै अन्य प्रतियोगिता समेत संचालन हुने भएको छ । बिगत १४ बर्ष देखि बनेपा ब्वाईज क्लबले खेल्कुद लगाएत सामाजिक कार्यमा आफुलाई सधैं अग्रस्थानमा राखेको छ ।