चर्चित गायक तथा गायिकाहरुको स्वरमा रहेका नेपाली गीतसंगीतहरुको ध्वनी सम्पादन गर्दै नेपाली सांगीतिक बजारमा चर्चा कमाउन सफल ध्वनी सम्पादक हुन मनोज परियार । सामान्य परिवारमा जन्मिएका परियार सानै उमेर देखि धुनहरुसंग खेल्न र रमाउँन मन पराउँथे । विस्तारै उनले आफुलाई यसै क्षेत्रमा क्रियाशिल बनाउन र ध्वनी सम्पादकको रुपमा आफुलाई स्थापित गर्न काठमाण्डौ डिजिटल नामक रेकर्डिङ स्टुडियोमा एक रेकर्डिस्टको रुपमा काम गर्न थाले । झण्डै दुई वर्षको अन्रालमा काठमाण्डौ रेकडिङ स्टुडियोमै रहँदा उनले आफुलाई ध्वनी सम्पादकको रुपमा स्थापित गराईसकेका थिए । सयौंको संख्यामा विभिन्न विधा तथा क्षेत्रका गीतसंगीतहरुमा ध्वनी सम्पादकका रुपमा रहेर काम गरिसकेका परियारका केही गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा तहल्का नै मच्चाएको थियो । यस विषयले मनोजलाई सांगीतीक सफलता मात्रै नभएर व्यवसायिक सफलता समेत उत्तिकै मिलेको थियो । यसै क्षेत्र तथा विषयलाई समेटेर ध्वनी सम्पादक मनोज परियारसँग नव क्षितिज साप्ताहिकको लागी अरविन्द्र गौतमले गरेको कुराकानी
० नेपाली गीत संगीतमा ध्वनी मिश्रणको महत्वलाई यहाँले कसरी विष्लेषण गर्नुहुन्छ ?
नेपाली गीत संगीलाइ विष्लेषणनै गर्ने हो भने त धेरै कुराहरुलाई समेट्नु पर्ने हुन्छ तर यहाँ म छोटकरीमा केही भन्दै छु । जस्तो नेपाली गीत र संगीतको क्षेत्र भनेको नेपालको समृद्ध सांस्कृतिक सम्पदा र कलात्मक परम्परालाई झल्काउने जीवन्त र विविध परिदृश्य हो । नेपाली संगीतले परम्परागत लोक संगीतदेखि आधुनिक पप र रक सम्मका विधा, शैलीहरूलाई समेटेको छ । परम्परागत नेपाली संगीत देशको सांस्कृतिक र धार्मिक अभ्यासहरूमा गहिरो जरा गाढिएको छ । “दोहोरी“,“रत्यौली”, “मारुनी” र “देउडा“ जस्ता लोक संगीत ग्रामीण क्षेत्रमा लोकप्रिय छन । त्यस्तै शास्त्रीय संगीत यसको जटिल धुन, जटिल लय, र स्वर यसको विशेषता हो । शास्त्रीय संगीत मुख्यतया मन्दिरहरूमा, धार्मिक समारोहहरूमा र विशेष कन्सर्टहरूमा प्रदर्शन गरिन्छ । आधुनिक पप र रक हालैका वर्षहरूमा नेपाली पप र रक सङ्गीतले विशेष गरी युवा पुस्तामाझ उल्लेखनीय लोकप्रियता हासिल गरेको छ । चलचित्र संगीत ‘कलिउड’ भनेर चिनिने नेपाली चलचित्र उद्योगले नेपाली संगीतको विकासमा महत्वपूर्ण योगदान दिएको छ । फ्युजन र प्रायोगिक संगीत नेपालमा फ्युजन र प्रयोगात्मक सङ्गीतको बढ्दो चलन रहेको छ, जहाँ कलाकारहरूले परम्परागत नेपाली ध्वनिलाई पश्चिमी वा विश्वव्यापी प्रभावसँग जोडेर विविभन्न शैलीमा तयार गर्ने गर्दछन् ¬¬। समग्रमा नेपाली गीत र संगीतको क्षेत्र गतिशील, विविध र निरन्तर विकसित हुँदै गएको छ । यसको समृद्ध सांस्कृतिक परम्परामा जरा गाडेर यो परिवर्तनशील समयसँगै विकसित हुँदै गइरहेको छ । हामीले माथी उल्लेख गरेका विषयवस्तुहरुलाई यदि परिस्कृत रुपमा नेपाली गीतसंगीतको विकासको लागी अघि सार्नै हो भने ध्वनी सम्पादनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । जसरी ईटा, बालुवा, सिमेन्ट, रडहरुको संयोजन गर्दै एउटा कालिगढले ईन्जिनियरको नक्सा अनुरुपको घर वनाउँछ त्यसै गरी शब्द, संगीत, वाजाहरु र गायनलाई मिश्रण गरि एउटा सुन्दर गीत बन्छ त्यही सुन्दरगीत बनाउने काम एउटा ध्वनी सम्पादकले गर्ने गर्दछ ।
० ध्वनी सम्पादकको रुपमा स्थापित हुनको लागी यहाँले कत्तिको संघर्ष गर्नुभयो?
ध्वनी सम्पादकको कार्य अति नै जटिल कार्य हो । यसको लागि अथाह मेहनत, लगनशिल, धैर्यता हुनु जरुरी छ । मेरो संघर्षको कुरा गर्नु पर्दा यस क्षेत्रमा लागेको वि सं २०६६ सालमा, म एस.एल.सी. दिएर जब काठमाण्डौ आए, त्यस पछि सुरुभए मेरा संघर्षका दिनहरु । म्युजिक र टेक्निकल क्षेत्रमा पहिले देखि नै चाँसो र जिज्ञासा थियो । गाउँघरमा हुने कार्यक्रमहरुमा गाउने बजाउने तिर बढीनै चाँसोका साथ सहभागी हुने म काठमाण्डौ आए लगत्तै आदरणिय गुरु गुरुदेब कामदसँग शाश्त्रीय संगीत सिक्न थाले । जिवनमा पहिलो चोटी रेर्डिङ स्टुडियोमा गीत रेकडिङ गरेको हेर्ने अवसर प्राप्त भयो । रेकडिङ गरेको देखेपछि मेरो आत्मैबाट रेकर्डिङको काम सिक्न मन लाग्यो । अर्को दिन स्टुडियोको सञ्चालक आदरणिय गुरु डिका गुरुङ संग आफैलै हिम्मत गरेर कुरा गरे । डिका गुरुङदाईले मलाई सजिलै संग हुन्छ भन्नुभयो । अनि म स्टुडियोमा रेकर्डिष्ट दाइको असिष्टेन्टको रुपमा काम गर्नथाले । छोटो समयमै रेकर्डिष्टको काम सिकेकोमा डिका दाई खुशी हुनुभयो र मलाई पार्ट टाइमको लागि रेकर्डिष्टको रुपमा काम दिनुभयोे । पार्टटाइम रेकर्डिष्टका काम गर्दा गर्दै मैले ध्वनी सम्पादन सम्बन्धी डिका गुरुङ संग सिक्न थाले । सुरुसुरुमा आदरणीय दाई डिका गुरुङसंग उहाँको कार्यकक्षमा उहाले ध्वनी सम्पादन गरिरहनु भएको हेर्थे र उहाँले पनि सिकाउँदै जानुभयो । यसरी नै समय वित्दै गयो म पनि रेकर्डिष्टबाट विस्तारै ध्वनी सम्पादकको रुपमा काम गर्न थाले । वि सं २०७० सालबाट म पुर्ण रुपमा ध्वनी सम्पादकको कार्यमा सक्रिय भए । ध्वनी सम्पादकको कार्य यति जटिल छ की दिन प्रतिदिन नयाँ नयाँ टेक्नोलोजीको विकास हुदै गएको छ । टेक्नोलोजीसंगै अघि बढ्नै पर्यो र अध्ययन गरिरहनु पर्ने हुन्छ । हिजोको दिनमा स्थापित हुनको लागि संघर्ष थियो भने आजको दिनमा टेक्नोलोजीको लागि अmझै संघर्ष गरिनै रहेको छुँ । फरक यति मात्रै हो अझै पनि उत्ति नै छ ।
० ध्वनी सम्पादकहरुलाई बोले अनुसारको पारिश्रमिक दिंदैनन् भन्ने सुनिन्छ, के तपाईले यस्तो अनुभव गर्नुभएको छ त ?
गीत संगीतको बजारमा केही यस्ता मान्छेहरु छन् । ति मान्छेहरुबाट यस्ता किसिमका गतिविधि हुने गरेका छन् । अरुबाट पैसा लिने काम लगाउने त्यपछि अहिले दिन्छु भोली दिन्छु भन्ने अनि नदिने । तर म त्यस्तोको पछि लाग्दिन म कर्मको पछि लाग्छु, आफुले राम्रो काम दिन सके पछि त्यो भोली आफै आउछ त्यसको लागि आफुले राम्रो काम गर्नुपर्दछ जस्तो लाग्छ । त्यस्ता मान्छे संग अरु विकल्प नै हुदैन पछि आफै आउने गर्दछन भन्ने कुरामा म विश्वास गर्दछु । झुटो बोल्ने मान्छेहरु केही समयका लागि हुन पछि आफै हराएर जान्छन् । जो सच्चा सर्जक हो जसले गीत संगीतलाई मनै देखी माया गर्दछ । उसले कहिल्यै यस्तो गर्देन । त्यस्ता सर्जकले परिश्रमीक नदिने होइन झन थपेर दिनुभएको उदाहरणहरु म संग थुपैं छन् । जो सर्जक छ उसले सधै पारिश्रमीक दिएको हुन्छ । सच्चा सर्जक कहिल्यै हराउदैन निरन्तर काम गरि नै रहेको हुन्छ र सधै टिकि नै रहेको हुन्छ । जो पैशामुखी छन् ती असली सर्जक पनि हैनन र धेरै दिन टिक्न पनि सक्दैनन् र तिनिहरु बाटे पारिश्रमीक नदिेने झुक्याउने जस्ता घटनाहरु हुने गर्दछन् ।
० तपाई आफैले संगीत गर्नुभएको कुन गीतबाट बढी सन्तुष्ट हुनुहुन्छ ? र किन ?
मलाइ आफुले गरेका कामहरु त सबै नै उत्तिकै प्यारा लाग्छन् र सम्पुर्णकाम प्रति म सन्तुष्ट छु नै । आफ्ना परिवारका सन्तान जस्तै नै हुन तुलना गर्नै मिल्दैनन तर पनि कुनै कामले अलि बढी नै व्यवसायकि सफलता मिल्छ त कुनै कामले अलि बढी नै नाम मिल्छ हरेक कामले केही न केही सफलता त दिइनै रहेका छन् त्यसैले कुनमा बढी सन्तुष्ट भन्न सक्दिन किन कि मैले गरेका हरेक काममा म सन्तुष्ट छु ।
० विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर काम पनि गरिरहनु भएको छ त्यसको अलवा संगीत कर्ममा पनि निरन्तर लागि रहुन भएको छ, समय कसरी मिलाउनु हुन्छ ?
समय अति नै महत्वपुर्ण छ र अलिकती समय मिलाउन गाह्रो त पर्छ नै तर पनि म समय मिलाएर उपस्थिती जनाएकै हुन्छु । कामको चपेटा भएको बेला कति कामहरु अलि सारेर हुन्छ की अथवा राती राती काम गरेर हुन्छकी काम र अन्य बाहिरी कामको तालमेल मिलाएकै छु अहिले सम्ममा । अब कतिपय ठाउहरुमा भौतीकरुपमा उपस्थितीको जरुरत हुदैन भने त्यहाँ आर्थिक अथाव कुन रुपमा सहयोग गर्दा हुन्छ सके सम्म मिलाउने गरेको छु ।
० तपाइको विचारमा आम मानिसहरु र कला तथा प्राविधिक क्षेत्रमा लाग्ने मानिहरुको जिवनमा फरक के रहेछ ? र किन ?
मेरो विचारमा आम मानिसहरु र कलाकार तथा कलाक्षेत्रमा लागेका म जस्ता प्राविधिकहरुको जिवनशैलीमा धेरै फरक हुन्छ । पहिले पहिले हामीहरु कलाकार भन्ने वित्तिकै ओहो कहिले फेस टु फेस देख्न पाईएला र यदि एउटा कलाकारलाइ आफ्नो आँखा अगाडी देखे भने म कति भाग्यमानी ठान्थे होला जस्ता अनेकल कल्पनाहरु मनमा आउँथे सायद आम मानिसहरुमा पनि आउँदो होलान । यसको मतलव एउटा कलाकारको प्रोफाईल भनेको केवल कलाकारिताका माध्यमबाट मात्रै समाजमा लोकप्रिय बन्ने हो जस्तो लाग्छ । हुनु पनि पर्छ, समाजको ऐनाको रुपमा रहेको कलाकारले सकारात्मक कुराहरुतर्फ समाजलाई डोर्याउने जिम्मेवारी बोकेको हुन्छ भने उसको रहन सहन बोली व्यवहार र पोशाकलाई समाजले पचछ्याउने कारणले नै उसले हरेक कुरा सोचेर बोल्न,े सोचेर हिड्ने अथवा लगाउने खाने कुराहरुमा पनि म मेरो लागि होईन यो समाजको लागि गर्दै छु भनेर गर्नुपर्ने हुन्छ । त्यस्तै एउटा प्राविधिक पर्दा पछाडीको उत्कृष्ट कलाकार हो उसकै कारणले सर्जक तथा श्रष्टाहरुको श्रृजनालाई सुन्दर बनाउने काम हुन्छ । मेरो विचारमा ब्यस्तताको हिसावमा हेर्ने हो भने प्राविधिकहरु कलाकारको तुलनामा असाध्यै ब्यस्त हुन्छन । अव सामाजिक मान्यतामा कलाकार, प्रविधिक र आम मानिसहरुको जिवन जिउने तरिका भने केही भिन्न हुन सक्छ र हुनु पनि पर्दछ भन्ने मलाई लाग्दछ ।
० नेपालमा ध्वनी सम्पादक मात्रै भएर जिविकोपार्जन सम्भव छ ?
प्राविधिक तथा त्यसमाथी ध्वनी सम्पादक जस्तो प्राविधिक रुपमा गहन जिम्मेवारी बोेकेको मानिस जो कोहीले हुन सक्ने कुरा होईन । यसको लागी एउटा दक्षता हासिल गर्नु, आफुले गर्ने हरेक कामलाई उत्कृष्ट बनाउने कोशिस गर्नुपर्छ र सवैकामलाई उत्तिक्कै न्याय गर्न सक्नु पर्छ विशेषतः यो एउटा प्राविधिक अर्थात साउन्ड डिजाईनरको मुख्य काम हो । अव तपाईले भने जस्तो जिविकोपार्जन कुरामा म तपाईलाई प्रष्ट पार्न चाहान्छु नेपालमा मात्रै नभएर प्राविधिक ज्ञान भएका हरेक प्राविधकहरु शंसारमै अर्थिक रुपमा सम्पन्न हुन्छन । कोही अलि कम होलान। कोही अलि धेरै ।
० अन्त्यमा ?
अन्यमा, के भन्न चाहान्छु भने आफुले गर्न चाहेको हरेक काममा दत्तचित्त भएर लाग्यो भने एक दिन अवश्य सफलता मिल्छ र प्राविधिकहरुको हकमा पनि यहि नै हो । निरन्तर आफ्नो काममा दक्षता बढाउँदे लैजाने र समयानुकुल प्रविधिसंग अपडेट हुँदै जाने हो भने एक दिन नेपालमा मात्रै नभएर विश्वको हर क्षेत्रमा उसले सफलता हुन सक्दछ र उसको कर्मले उसलाई व्यवसायीक तथा सामाजिक सफलता पनि दिलाउँछ । खहरेको बाढी झै आउनेहरु भन्दा पनि सदावहार नथाक्नेहरु नै सफल हुन्छन । त्यसैले हर कोहीले जहिले पनि आफुले कार्य गर्दै आएको क्षेत्र र आफ्नो कर्ममा विश्वास गरेर अगाडी बढ्नुस, आफ्नो कामलाई माया गर्नुस्, तपाइलाई सफलताको शिखर चुम्नबाट कोही रोक्न सक्दैन भन्न चाहान्छु । धन्यबाद ।