मितिः २०८०/०६/२० गते शनिबार
आदरणिय ओलीबा, देउबा, दाहालबा, नेपालबा….अरू अरूबा र उदाउदै गरेका नातिबाहरू सबैमा न्यानो अभिबादन ! म यहाँ सञ्चै छु र तपाईहरूको पनि आराम कुशलताको कामना गर्दछु ।
यहाँहरूले बडो दुःखकष्ट संघर्ष गरि आजको मूलुक यहाँसम्म ल्याउनु भयो यहाँहरूलाई मेरो ब्यक्तिगत तर्फबाट हार्दिक धन्यबाद छ । यसो भन्दैमा कोहि कोहिले फेसबुक र अन्य सञ्जालमा ताईन तुईका साथ नकारात्मक मनोबृतिका साथ तपाईहरूलाई गाली गरे झै म चाहिँ गाली गर्ने र विश्राम लिनुस् भन्ने पक्षमा छैन । बरू बाँकी काम र बेलाबेलामा तपाईहरूको रेलले लिक छोडि देशलाई पारेको दुर्घटनाबाट देशलाई बचाएर मात्र जानुस भन्ने आग्रह गर्दछु । तपाईहरूले गरेका राम्रा कामहरूलाई मचाँहि सलुट गर्दछु र तपाईहरू पनि आँफूले बिराएका कुराहरूलाई घोतलिएर सोच्नुस्, नेपाल आमासँग क्षमायचना गर्नुस् र बाँकी जीवनमा देशलाई केही छोडेर जान्छु भनी नयाँ शीराबाट माथी उठ्नुस् । म नकारात्मक कुरा कोट्याउने पक्षमा पनि छैन र तपाईहरूको योगदानलाई कम पनि आँक्दिन । यसो भनिरहँदा तपाईहरूले हाँकीहरूको देशको गाडी सहिदिशा र सहि रफ्तारमा अगाडि बढरहेको छ भन्नेमा बिश्वस्त पनि छैन । आज मैले यहाँहरूलाई सम्झनुको कारण, म सानै मान्छे नै भएता पनि, केही सरसल्लाह दिँउ, केही जिज्ञासा राखौं र अब तपाई हामी राष्ट्रका लागि आँफूलाई बदलौ, भो त्यस्तो खाले भन्दा अर्काेखाले राजनिति गरौं र देश निर्माण गरौं भन्नलाई हो, ध्यानपूर्वक पढि, मनन् गरि अब पनि÷चाहिँ केही गरौं है Please नेताज्यूहरू !
बिषयबस्तुहरू धेरैछन् तर यो छोटो पत्रमा आजचाहि बिशेषगरि शिक्षासँग सम्बन्धित हुँदै केही कुराहरू लेख्दछु ल ! हैन निजीमा पढ्ने बालबालिकाले चाहिँ निःशुल्क पढ्न पाउने संविधानप्रदत्त हक नपाउने रहेछन ? के उनिहरूलाई चाहिँ यो संबिधानले नछुने रहेछ ? नचिन्ने रहेछ ? के उनिहरूको लागि छुट्टै संविधान छ ? बालबालिका त बालबालिका नै हुन्छन् होला नि जहाँ पढेपनि ! त्यसो भए, यहाँ त पैसाले किन्ने दामी शिक्षा र सित्तैमा उसै दयामायाले फालेको सस्तो शिक्षा गरि २ खाले शिक्षा पो दिइरहेका छौ त ! यो शिक्षाले बर्गखाडल अझ गहिर्याउदै छ कि संबिधानको प्रस्तावनामा भनिए झै समाजबाद निर्माणको गोरेटोमा हिंडाउदैछ ? शिक्षाले देशको आकृतिकरण गर्नुपर्ने हैन र ? हो यसको बारेमा यहाँहरूले के सोचनु भएको छ ? अनि गुरूहरूलाई यहाँहरूले कुन दर्र्जामा राख्दै हुनुहुन्छ ? यहाँलाई कसले पढायो ? कसले बनायो ? आदि आदिका बारेमा सोच्नु भएको छ ? कि शिक्षा तपाईको प्राथमिकताको अन्तिम लिष्ट मा छ ? खैर, अब कि संविधानलाई अक्षरस पालना गरौं कि संविधान बदलौं ! खै हाम्रा दलहरूले ÷ तपाईहरूले कुरो नबुझेको कि, बुझ पचाको ? खातामा पैसा नभएको चेक लेख्नेलाई जेलै जाने सम्मका कारबाही हुन्छ भने अधिकारै नभई, अधिकार दिन्छु, पाउछस भन्दै संविधान लेख्ने दलहरू र तपाईहरूलाई त्यस्तो झुटो संविधान लेख्नेबापत चाहि के कस्तो कारबाहि हुने ? जब सम्म देशमा एउटै शिक्षा हुदैन, तबसम्म देश बन्दैन – म ठोकुवा गरेर भन्छु यो कुरो लेखेर राख्नुस् ! तपाईहरूलाई यस्तो लाग्दैन ? यस्को उपाय पनि छ– हरेकदलका तपाईं शीर्ष नेताहरू एउटा कोठाभित्र बसेर ठण्डा, निः स्वार्थ र ईच्छाशक्तिले भरिपूर्ण भएको दिमाग लिई सोचमग्न हुनुस्, संबिधानको भावना र मर्मअनुरूप देशको परिकल्पना गर्नुस्, एउटा नयाँ नेपालको नक्सा कोर्नुस्, धमिराले खान लागेको घोषणा पत्र टक्टक्याउदै पल्टाउनुस्, खाका कोरीरहदा खेरि सहयात्री दलहरसँग सँगै यात्रामा गन्तव्य तिर लम्कदै गरेको दृष्य पनि देख्नुस्, त्यो नक्सा भित्र संघ र स्थानिय तह मात्र देख्नुस–प्रदेश हैन ! त्यो नक्सामा आँफूलाई कहाँ पाउछु भन्दा पनि हर नेपालीको आशा र संभावनाले भरिएको चम्किलो हँसिलो मुहार कहाँकहाँ छन्, कहाँ कहाँ पाउने भनी हेर्नुस्, आफ्ना कार्यकर्तालाई पछिपछि लागि कामै नगरि खानुभन्दा श्रम गर्न सिकाउदै गरेको देख्नुस् । सबैलाई नेता बन्नुपर्छ भनेर पनि नभन्नुस् । अनि देश बनाउने, राजनेता र जनताको ढुकढुकी बन्ने दृढ ईच्छा र संकल्पकासाथ सोचांै सबै हातेमालो गर्दै संसद भबनमा छिर्नुस र भर्खरै कोरेको÷ बुनेको सपना बमोजिम देशका ऐनकानुन बनाउनुस्, आफू मन्त्रि नबन्नुस् बरू मन्त्रि भन्दा ठूलो अनुगमनकर्ता तथा पथप्रदर्शक बन्नुस् । जनताका हर मनमुटुमा बास गर्नुस्, अनि तपाईं आर्यघाट गइरहदा पनि तपाईको मृत आत्माले पनि गहभरि आँसु र रोदन बोकी तपाईका पछिपछि बिलौना गर्दै हिडेका लाखौं जनता देखेर म त अमर भएछु भन्ने अनुभूति गरोस् – तपाईं राजनेता र धुर्वतारा भई पुस्तौपुस्ता नेपालीका मनमा चम्किन सफल भैरहनुहोस् – धेरै धेरै शुभकामना छ तपाईहरूलाई ! अंग्रेजीमा भन्नू पर्दा Best of Luck पनि !
उहि तपाईहरूले निम्सरो ठान्नु भएको सार्वजनिक शिक्षाको एक ड्राइभर-हेडसर– शिबकुमार पौडेल सर
श्री महाकाली मा. बि., मण्डनदेउपुर न. पा.– ४, काभ्रे