होमप्रसाद चौंलागाँईं
मण्डनदेउपुर नगरपालिका मुलुकको राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेको उर्वर कृषि भूमी हो । कृषि भूमी त यसैपनि हो, यसको अलावा नगरकोटको पर्यटन मण्डनदेउपुरको अर्को आकर्षण पनि । यहाँको उर्वर फाँटहरुमा लगातार ३ बाली अन्न तथा तरकारी उत्पादन हुने गर्दछ । तरकारी बालीको रुपमा आलु, काउली, गोलभेंडा, बन्दाकोपी, करेला, फर्सी, काँक्रो, भिण्डी लगायतका तरकारीहरुको उत्पादन हुन्छ भने अन्न बालीकोरुपमा वर्षको २ पटकसम्म धान, मकै, कोदो, गहूँ, जै लगायतका अन्न बालीहरुको उर्वर उत्पादन हुने गर्दछ ।

काभ्रेको पाँचखाल र मण्डन क्षेत्रमा वढ्दो विषादीको कुरा सर्वत्र उठ्न थालेपछि २०७५/०७६ मा यहाँका केहि किसानहरु मिलेर शत्रूजीव व्यवस्थापन कृषि सहकारी संस्था लि.को नै स्थापना गरी रासायनिक मल र विषादी प्रयोग कम गर्ने उद्देश्यका साथ अगाडी वढेको संस्थागत इतिहास छ । आजभन्दा १०÷१२ वर्ष पहिलेदेखि आइ.पी.एम्. प्रविधिमा ध्यान दिई बिभिन्न कृषक पाठशालाहरु मार्फत अर्गानिक उत्पादनमा ध्यान दिन थालिएको हो । त्यतिबेला कृषक पाठशालाहरुले देखाएको अग्रसरताको कारण राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ध्यान मण्डनदेउपुरको कुन्तावेसीमा पर्न थालेको थियो ।

त्यसैको फस्वरुप आज अर्थात २०८० साल पौष २८ गते शनिबारका दिन संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका महामहिम महानिर्देशक डा. च्यु डोङ्गयू सहितको प्रतिनिधीमण्डल आज मण्डनदेउपुरको कुन्तावेसीधाइटार पुगेको छ । महादेवस्थान कुन्तावेसी आसपासको फाँटमा रहेको अलुखेती क्षेत्रको निरिक्षण गर्न एफ्.ए.ओ.को महानिर्देशक सहितको प्रतिनिधि मण्डल कुन्तावेसीको खेत खेतमा पुगेको हो । आई.पी.एम. शत्रुजीव व्यवस्थापन कृषि सहकारी संस्था लि. का अम्बिका ठकुरी, राममणी पौडेल, महेश्वर दाहाल, हरिप्रसाद सपाकोटा, सुशिला तिमल्सिना लगायतका स्थानीय सहकारी कर्मीहरुको सक्रयितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शत्रूजीव व्यवस्थापन कृषि सहकारी संस्था लि.का संचालकहरुले आजभन्दा झण्डै १०-१२ वर्ष अघि आइ.पी.एम्. कृषक पाठशालाको प्रारम्भ गरेका थिए । साबिकको महादेवस्थान गाउँ विकास समितिको मानोरम उर्वर फाँट र खेतहरुमा शुरु भएको उक्त प्रविधिको वालीप्रणाली देशभर चर्चित बन्दै गैरहेको थियो । उच्चत्तम प्रविधिको प्रयोग र विषादी तथा रासायनिक मलको कम प्रयोग गरी अर्गानिक प्रकृतिको वीउ वीजन तथा उत्पादनमा ध्यान दिने उद्देश्यले उक्त कार्यक्रम चल्दै आएको हो ।

पछिल्लो समय देशको शासकीय स्वरुपमा पुनरसंरचना भएर ३ देउपुर र ४ मण्डन मिलेर मण्डनदेउपुर नगरपालिका बनेपछि आई.पी.एम्. कार्यक्रम अन्तर्गतका गतिविधिहरु संचालन गर्न खर्चको अभाव हुन थालेको देखिएको थियो । त्यतिबेलै शुरु भएको कृषक पाठशालाहरुकै कारण यहाँको पठाशाला देशभरीमा नमूना बनिरहेको थियो । भनिन्छ नीराम्रो वीउको प्रयोग गरेमा उत्पादन पनि राम्रै लिन सकिन्छ, त्यस्तै भएको छ कुनतावेसीमा । त्यतिबेलाको प्रभाव र कृषक पाठशालाहरुको राम्रो कामका कारण आजको यो कार्यक्रमले देशभरीमा मण्डनदेउपुरले प्राथमिकता पाएको हो ।

कार्यक्रममा आद्युनिक प्रविधिमार्फत ड्रोनको प्रयोग गरेर आलु खेतीको निरीक्षणका साथै शत्रूजीव व्यवस्थापन समेतको काम गरिएको थियो । कार्यक्रममा आलुखेतीको साथै अर्गानिक ढंगबाट उत्पादन भएका विभिन्न स्थानीय खाद्यान्न तथा तरकारीहरु प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा प्रतिनिधी मण्डलको तर्फबाट विभिन्न, सामग्रीहरुको निरिक्षणका साथै स्थानीय उत्पादनहरुको समेत निरिक्षण गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका महामहिम महानिर्देशक जस्तो उच्चपदस्थ व्यक्तित्वको उपस्थित गराएर नगरपालिकाका मेयर, उपमेयर सहितका जनप्रतिनिधीहरुलाई डाकेर यो खालको कार्यक्रम जो सम्पन्न भएको छ । यसको जतिसुकै प्रशंसा गरेपनि पुग्दैन । यसप्रति शत्रूजीव व्यवस्थापन कृषि सहकारी संस्था लि.लाई नै किसानमैत्री कामको जस जान्छ । कृषकमैत्री यति ठूलो कार्यक्रम मण्डनदेउपुरमा ल्याउन सफल हुनु भएकोमा हार्दिक धन्यवाद । आद्युनिक, किसानमैत्री र अर्गानिक उत्पादनका कामहरु शसक्त ढंगले अगाडी वढ्न सकनु पर्छ । यसबाट मात्र मण्डनदेउपुरले कृषिको क्षेत्रमा आद्युनिक फड्को मार्न सक्छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….