काभ्रेपलान्चोक – अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। आइतबार बुडोल सामुदायिक साकोसले आयोजना गरेको अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
बुडोल सामुदायिक साकोस संस्थाको २५ औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा सहकारी संघ-संस्थाका सञ्चालकहरुको मैत्रीपूर्ण अन्तरसहकारी फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
फुटसल प्रतियोगितामा बुडोल सामुदायिक साकोस लगायत सामुदायिक साकोस, मनकामना साकोस, आर्थिक विकास साकोस, ज्योति मिर्मिरे साकोस, एक्सप्रेस साकोस गरेर ६ वटा संस्थाले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको बुडोल सामुदायिक साकोसको प्रमुख कार्यकारी अधिकृत विबेक राज ठकुरीले जानकारी दिए ।
मैत्रीपुर्ण फुटसल प्रतियोगितामा एक्सप्रेस साकोसले प्रथम हासिल गरेको थियो भने सामुदायिक साकोस दोश्रो भएको थियो । प्रथम र दोश्रो हुन सफल टिमलाई जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले ट्रफी हस्तान्तरण वितरण गरेका थिए ।
बुडोल सामुदायिक साकोस संस्थाका अध्यक्ष कैलाश केसीले सम्पूर्ण सहभागी प्रतियोगी संस्थाहरुलाई सहभागिता प्रमाणपत्र र सहभागीहरुलाई मायाको चिनो वितरण गरेका थिए । अध्यक्ष कैलाश केसीले कार्यक्रममा बोल्दै यस्तो खालको कार्यक्रम जिल्लाको सहकारी अभियानको लागि नयाँ भएको तर अभियानमा यस्ता कार्यक्रमहरुको माध्यमबाट सहकारी सहकारीबिचको सम्बन्धको विस्तार हुनुको साथै अभियानमा ऐक्यवद्धता कायम रहने भन्दै अहिले सहकारी क्षेत्रमा देखा परेका चुनौतीहरुको ऐक्यबद्ध भई एकरुपताका साथ सामना गर्नुपर्ने भन्दै सहभागी सबै संस्थाहरुलाई धन्यवाद दिएका थिए।