नमन, ललितपुर । सरस्वती विद्याश्रम माध्यमिक विद्यालयको ५० औँ जन्मजयन्ती (स्वर्ण महोत्सव) सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो अर्थात अन्तिम दिन कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका थिए ।
महांकाल गाउँपालिका वडा नं. ५ नमनडाँडा स्थित विद्यालय प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री दुलालले ललितपुर जिल्ला आफैमा २ भागमा विभक्त भएको यथार्थलाई चित्रण गर्दै गणतन्त्र सबै क्षेत्रको समान विकासको लागि ल्याएको हुँदा दक्षिण ललितपुर विकासको पहिलो हकदार भएको बताए ।
मन्त्री दुलालले विद्यालयद्वारा निर्मित स्मारिकाको अन्तिम पृष्ठमा महाङ्काल गाउँपालिकाको गान कण्ठस्थ वाचन गरे । त्यसमा भएका शब्दहरूले आफूलाई छोएको बताउँदै लेले चन्दनपुर सडकलाई प्रदेश सडकको रुपमा विकास गर्ने काम भइरहेको बताए ।
फापरबारी स्थित मध्यमार्गी सडक मदन भण्डारी लोकमार्गसँग जोडिने चन्दनपुर-ठुलादुर्लुङ-फापरबारी हुँदै हेटौडा पुग्ने सडक निर्माणका लागि मन्त्रिस्तरिय निर्णयबाट रु. २९ करोड ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । बेथानचोकको ढुंखर्क – च्याम्राङवेशी -ठुलादुर्लुङ सडकमा जोड्ने त्यस्तै आश्राङ हुँदै ठुलादुर्लुङ आइपुग्ने सडकको स्तरोन्नतिको लागि बजेट बिनियोजन भएको जानकारी दिए ।
यस क्षेत्रको बढ्दो बसाइसराई प्रति ईङ्कित गर्दै राम्रो सडक पहुँच हुने हो भने बस्न योग्य स्थान बनाउन सकिन्छ भन्ने आफूले बुझेको मन्त्री दुलालको भनाई थियो । प्रदेश सरकार ललिपुरलाई २ वटा नभइ डाडाँपारि क्षेत्रलाई पनि विकासको मुलधारमा समेट्ने गरि समानुपातिक विकास गर्न प्रतिबद्ध रहेको मन्त्री दुलालले बताए।
आमाबुबालाई सम्मान गर्ने, आफ्नो गाँउ, समाज र राज्यप्रति जिम्मेवार विद्यार्थी उत्पादन गर्नुपर्ने मन्त्री दुलालको भनाइ थियो। विद्यालयले उत्पादन गरेका विद्यार्थी आफ्नो ठाउँ र देशलाई माया गर्ने, संस्कार र संस्कृति अनुसरण गर्ने भएमा गुणस्तरिय शिक्षा प्राप्त गरेको हुने मन्त्री दुलालको भनाइ थियो ।
अंकमा धेरै, अङ्ग्रेजीमा पोख्त तर अन्तिममा देशै छोडेर जाने विद्यार्थी उत्पादन गर्नु गुणस्तरिय शिक्षाको मानक खारेज गर्नुपर्ने बताए । विद्यालयले छात्रावास, प्राविधिक शिक्षा व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने मन्त्री दुलालको भनाई थियो ।
दूध, कफी, लौठसल्ला, केरा अम्लिसो जस्ता वस्तुहरुको व्यावसायिक खेतिबाट चिनिएको यस क्षेत्रको उत्पाउनलाई बजारीकरण गर्न सहज यातायातको प्रबन्ध हुनुपर्ने मन्त्री दुलालले बताए । संघीयता, प्रदेश र गणतन्त्र देशका अविकसित र पिछडिएका क्षेत्रको विकासको लागि ल्याएको हो – मन्त्री दुलालले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य उर्मिला लामाले यहि भुगोलमा उचित रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताईन् । आधारभूत विद्यालयहरूलाई `सिक्दै कमाउदै कमाउदै सिक्दै’ भन्ने कार्यक्रम अन्तर्गत सामाजिक मन्त्रालयमा योजना पेश गर्न आग्रह गरिन् । आफूहरु शिक्षा, स्वास्थ्य र कृषिको विकासको लागि काम गर्न अगाडि बढेको लामाले बताइन् ।
प्रदेश र स्थानिय सरकार तत्पर भएको भएपनि संघ सरकारको बजेट तथा योजना यस क्षेत्रमा आउन आवश्यक रहेको लामाले बताइन् ।
कार्यक्रममा गायक कृष्ण दाहाल, सुजाता केसी लगायतले सांगितीक प्रस्तुति राखेका थिए । त्यस्तै कलाकार गोपाल ढकाल (छन्दे) र अनिश तिमल्सिनाले प्रहसन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण विद्यालयको प्रधानाध्यापक रमेश प्रसाद घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डोल्मा माया गोले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गाउँपालिका १ देखि ६ नं. वडाका वडाध्यक्षहरू, महांकाल गाउँपालिका कार्यपालिका सदस्यहरू, दक्षिण ललितपुर विद्युतीकरण सहकारीका अध्यक्ष गोविन्द बजगाँई, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विशिष्ट व्यक्तित्वहरू, स्थानीय, विद्यार्थी, शिक्षक, पत्रकार एवं सरोकारवालाहरूको उत्साहजनक सहभागिताबिच कार्यक्रम समापन भयो ।
कार्यक्रममा विद्यालयको महोत्सव एवं शैक्षिक उन्नयनका लागि महत्वपूर्ण सहयोग गर्नुहुने चन्दा दाताहरू, उहाँहरुको आफन्त एवं विभिन्न जिम्मेवारीको संयोजक रही महोत्सव समापन योगदान गर्ने व्यक्तिहरुलाई मायाको चिनो सहित विशेष सम्मान गरिएको थियो ।
उनीहरूलाई बागमती प्रदेश सरकारका मन्त्री युवराज दुलाल, महांकाल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ५ का वडाध्यक्ष भुमिन्नद घिमिरे, विव्यस अध्यक्ष विजय कुमार दाहाल लगायका व्यक्तित्वहरुले सम्मान गरेका थिए ।