राष्ट्रिय सहकारी महासंघ लि. नेपाललाई बजेट उपलब्ध गराउन राष्ट्रिय योजना आयागको महासंघले ध्यानाकर्षण गरेको छ । सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई आयोगको कार्यकक्ष सिंहदरबारमा भेट गरेको हो । बिगत वर्षहरुमा सहकारी क्षेत्रको प्रवर्द्धन, क्षमता अभिवृद्धी, संघसंस्थाहरुको सुशासन, पैरवीलगायतमा खर्च गर्नेगरि सरकारले बजेट उपलब्ध गराउँदै आएकोमा चालु आव २०८०/८१ मा सहकारी क्षेत्रलाई उपेक्षा गरि बजेट बिनियोजन नभएकोमा दुःखेसो व्यक्त गर्दै महासंघ अध्यक्ष मल्लले आगामी बजेटमा सिलिङ बडाएरै भएपनि महासंघलाई बजेट उपलब्ध गराउन माग गर्नुभयो । जवाफमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सहकारी क्षेत्रको अभिभावकीय संस्था राष्ट्रिय सहकारी महासंघलाई बजेट कार्यक्रममा राख्न आयोग सकारात्मक रहेको बताउँदै भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयको बजेट सिलिङमा महासंघलाई पनि समेट्न आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका महासघका पूर्वअध्यक्ष केशबप्रसाद बडालले मुलुकको समृद्धी, आर्थिक तथा महिला, पिछडीएको वर्गको सशक्तिकरणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै महासंघले दिगो विकास लक्ष्य हासिल गर्न खेलेको भुमिका तथा बिगतमा महासंघका गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । भेटमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, संचालक सुमन नेपाल तथा महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति रहेको थियो ।