काभ्रे । जिल्लाको पनौती नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आज (आइतबार) बसेको पन्धौं नगरसभाको बैठकले सभाध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले प्रस्ताव गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

नगरपालिकाले शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार र स्वास्थ्यको कार्यक्रमलाई विशेष प्राथमिता दिएको छ । जहाँ विद्यार्थी, त्यही शिक्षक, एक नगर, एक प्राविधिक विद्यालय, एक वडा, एक नमुना विद्यालयको अवधारण अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगरपालिकाले प्राचीन र पुरातात्विक इतिहास बोकेका ब्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड बमोजिम हुने गरी भवनको अग्रभागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशत मा नबढ्ने गरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराउने नीति लिइएको छ ।

नीति तथा कार्यक्रममा रोढा, ढुंगा उद्योग सञ्चालन भैरहेका वडा नम्बर २ र १२ नम्बरका स्थानीय नागरिकको स्वास्थ्य विमाका लागि नगरपालिका ५० प्रतिशत खर्च बेहार्ने भएको छ । त्यस्तै खानी प्रभावित क्षेत्रका पूर्वाधार विकासका लागि विशेष बजेटको ब्यवस्था गरिने भनिएको छ ।

सुत्केरी महिला, बृद्ध, अपाङ्गता भएका र गरिब घरपरिवारका सदस्यलाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । महिला सामुदायिक स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ

नगरसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ६० करोडको बजेट सार्वजनिक गरेको छ । अर्को बैठक असार २८ गते बस्ने गरी पन्ध्रौं अधिवेशनको पहिलो बैठक सभाध्यक्ष एवं नगरप्रमुख भण्डारीद्वारा समापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….