एक्काइसौं शताब्दीको आवश्यकता विकासमूलक पत्रकारिताको नारा बोकेर २०५७ साउन १५ गतेदेखि निरन्तर प्रकाशनमा रहेको काभ्रेपोष्ट साप्ताहिकले रजत महोत्सव मनाएको छ ।
रजत वर्षको अवसर पारेर साप्ताहिकले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साप्ताहिकका संस्थापक सदस्य ईश्वरी ओझा लगायत रहेका छन् ।
काभ्रेपोष्ट साप्ताहिकका संस्थापक स्व. विष्णु प्रसाद चौलागाई हुन् । कोरना महामारीका कारण चौलागाईको २०७७ कार्तिकमा स्वर्गारोहण भएको थियो । कार्यक्रममा उनै चौलागाईंले स्थापना गरेको ‘कोशीपारी पत्रकारिता पुरस्कार’बाट २ जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा गोरखापत्रका काभ्रे सम्बावाददाता केदार तिमल्सिना र कान्तिपुर दैनिक काभ्रे सम्वाददाता ज्योति श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा साप्ताहिकका पूर्व कार्यकारी सम्पादक शिब दाहाल, पूर्व व्यवस्थापक दिपेन्द्र लामा, सरोज अधिकारी तथा वरिष्ठ कर्मचारी बालकृष्ण बजगाईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी साप्ताहिक संचालनमा महत्वपूर्ण भूमिका खेल्नुहुने ग्राफिक डिजाइनर खगेन्द्र कार्की, स्तम्भकार चुडाप्रसाद चौंलागाई, निर्माण व्यवसायी कृष्णहरि चौलागाई लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेस युनियन अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायत राजनीतिक दलका नेताहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता कुनै समूह, व्यक्ति र घटना लक्षित नभइ परिवर्तनको पक्षमा हुनुपर्ने विचार राखे । पछिल्लो समय सर्वसाधरणको बुझाइमा पत्रकार र पत्रकारिताको अर्थ भिन्न हुँदै गएको मिडिया हो या सोसल मिडिया छुट्याउन कठिन भएको भन्दै यस विषयमा काउन्सिलले डिजिटल साक्षरता कक्षा नै शुरु गरेको बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सबै भन्दा ठूलो कामाइ इज्जत र नामको हुने भन्दै काभ्रेपोष्टका संस्थापक चौलागाईले काभ्रेपोष्ट मार्फत गरेको कमाई दिगो भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिब प्रसाद हुमागाई, मधुप्रसाद आचार्य, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष रघुवर चौप्रधान, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, काभ्रेपत्रकार महासंघ अध्यक्ष बद्रिराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष बद्रिराज तिमल्सिना, काभ्रेपोष्ट साप्ताहिकका अध्यक्ष राधिका चौलागाई सम्पादक दीपक प्रसाद चौलागाई स्तम्भकार चुडाप्रसाद चौलागाई लगायतले काभ्रेपोष्ट तथा काभ्रेपोष्ट मार्फत स्वं विष्णुप्रसाद चौलागाईले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए ।