नव प्रतिभा वि.सं. २०४९-५० सालबाट ग्रामिण भेग चण्डेनी मण्डनमा संचालित विद्यालय हो । पछि वि.सं. २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर संचालित हुँदै आएको मण्डनदेउपुर भेगको एक ऐतिहासिक र पूरानो विद्यालय हो । अविरल बग्दछ इन्द्रावतीका आदरणीय साहित्यिक व्यक्तित्व स्व. रमेश विकल र उहाँको केहि पारिवारिक व्यक्तित्वहरुले खास गरी बोडगाउँ र आँपचौरका माझी समुदायका बाल बलिकाहरुलाई गाउँमै सर्वसुलभ ढंगले अंग्रेजी माध्यमको शिक्षा दिलाउने गरी स्थापना भएको विद्यालय हो ।
त्यहि विद्यालयको एल्.के.जी.देखि कक्षा २ सम्म अध्ययन गरेकी विद्यार्थीको नाम हो–प्रतिभा पराजुली । सानै उमेरमा अरुभन्दा फर स्वभावकी देखिने उनीलाई हुने विरुवाको चिल्लो पातको रुपमा पाउने गरेको विद्यालयका तत्कालिन प्रिन्सिपल दामोदर नेपाल बताउँछन् । सानैदेखि जिज्ञासु र दृढ संकल्पकी धनी प्रतिभा एक असल र मेहनती विद्यार्थी थिइन । सरहरुले दिएको गृहकार्य राम्ररी गर्ने र कक्षा कोठामा पढाइ भइरहँदा ध्यापूर्वक सुन्ने उनको निकै राम्रो बानी भएको शिक्षक महेन्द्र नेपाल बताउँछन् ।
पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । जोे साउन महिनाभरी चल्र्दै छ । मानव सेवा फाउण्डेसन नेपाललगायतका संस्थाहरुले आयोजना गरेको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ ।
कोटीहोम महा यज्ञमा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त विभिन्न कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा पं. दीनबन्धु पोखरेल, राधिका दाशी र देवी प्रतिभा रहेका छन् । नेपाली मात्र नभएर हिन्दी भाषाको समेत सुमधुर स्वरकी धनी वाचिका प्रतिभाले १ गतेदेखि ११ गतेसम्म प्रवचन दिएकि थिइन । काभ्रे जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी उनी प्रतिभा पराजुली अर्थात् देवी प्रतिभा नामले कहलिएकी छिन् ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० मा जन्मिएकी प्रतिभा पराजुली सानैदेखि आध्यात्मिक सोच र चिन्तनका साथ अघि बढ्दै आएकी थिइन् । उनी बुवा साधुराम पराजुली र आमा इन्दिरा पराजुलीकी माइली छोरी हुन् । २३ वर्षको उमेरमै यति धेरै व्यस्त छिन् की उनको कथा सुन्नका लागि समय मिलाउनै कठिन छ ।
अहिले उनले सन् २०२६ सम्मको लागि आफ्नो समय तालिका मिलाइसकेकी छिन् । सामाजिक संजाल फेसबुक र युट्युवमा उनलाई पछ्याउनेहरु लाखौं रहेका छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्दछिन्
वाचन कला र पढाइलाई संगसंगै लगेकि प्रतिभाले संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी छिन् । प्रयसको अलावा उनले गीतसंगीतमा पनि निपूर्णता पाएकी छिन् । सुमधुर स्वरकी धनी प्रतिभाको अहिले एउटा राष्ट्रसेवा नामक ट्रष्ट पनि रहेको छ ।
पछिल्लो पुस्ता धर्म र अध्यात्मबाट अलग हुन खोजीरहेका छन् तर प्रतिभा भने सानैदेखि आफूलाई पण्डित बन्ने सोच राख्थिन् । उनका जिजुबुबा पं. दिवाकर पराजुली, हजुरबुबा पं. भरतमणि पराजुली त्यतिबेलै काभ्रे र सिन्धुपाल्चोक आसपासमा नाम कहलिएका पण्डित थिए । पुस्तान्तरणको सन्दर्भ र छोटै उमेरमा भएको हजुर बुबाको स्वर्गारोहणले खासमा हजुरबुबाको माया पाउन नसकेकी उनले पितृ बनेपाको पञ्चकुमारी बोर्डिङ स्कुलमा नर्सरीको कखरा अध्ययन गरेकी उनले गाउँकै नवप्रतिभा ईङ्गलिस स्कुलमा एल्.केजी.देखि कक्षा दुईसम्म अध्ययन गरेकि थिइन् । पढाइको शिलशिलामा काठमाडौंको बाल्मिकी विद्यापिठमा पनि केही समय अध्ययन गरेर पछिल्लो एक दशकदेखि उनी भारतको बृन्दावनमा अध्ययनकै शिलशिलामा पुगिन् र उतैबाट यसक्षेत्रमा प्रवेश गरेकी हुन् । यस विचमाा सयौं ठाउँमा उनले प्रवचन दिइसकेकी छिन् । आगामी दिनमा पनि यसैलाई निरन्तरता दिने उनको सोच छ ।
बाल्य कालमै ‘म एकदिन बाबाआमालाई एकापटी कुर्सिमा राखेर आफैंले श्रीमद्भागवत वाचन गरेर देखाउँछु ।’ भन्ने प्रतिभालाई भगवानले तँ आँट म पुर्याउँछु भनेझैं भएको छ । शुरुमा केही दुःख त भयो होला तर अब उनको भविष्यका लागि बुबाआमाले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । आफैंले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन् । देशविदेशमा नाम कमाएकी छिन् । त्यस खालको गौरव, गौरवान्वित इतिहासको सन्दर्भमा आफ्नो पूर्व विद्यार्थीलाई विद्यालयको तर्फबाट अभिनन्दन गर्न लागिएको विद्यालयका संस्थापक होमप्रसाद चौंलागाँईले बताए ।