प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ ।

नेपाल सरकारका सचिवहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिंदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो– यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन।

उपप्रधानमन्त्री, मन्त्रीहरूलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो– असफल हुँदैन भनेर हामी हात बाँधेर आरामले बसेर चाहिँ सफल होइँदैन, भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिँदैन ।

उहाँले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्ने र अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।

यो सरकार पनि कति दिन चल्ने हो र ? भनेर भ्रम फैलाउनेहरूलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एकसाता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर स्थिरताको सन्देश दिने स्पष्ट गर्नुभयो ।

 

प्रधानमन्त्रीले अगाडि भन्नुभयो– त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिने छ ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिब्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….