काभ्रेपलान्चोक – आर्थिक समृद्धिका लागि सहकारी र ऋणी बीचको सम्वन्ध राज्यको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई पनि महत्वपूर्ण पाटोको रुपमा हेर्न सकिन्छ । देशमा सञ्चालित धेरै सहकारी संस्थाहरुले आफ्ना कार्य क्षेत्र भित्र समुदायमा आधारित बिभिन्न प्रकारका सेवा सुविधा सहित शेयर सदस्यहरुको आर्थिक विकासका पक्षलाई सवलिकरण गर्नमा तल्लिन भइरहेका छन् ।
आर्थिक पक्ष भन्ने बित्तिकै सहकारी संस्थाहरुमा बचत तथा ऋण लगानी र असूलीका पक्षहरु प्रत्यक्ष जोडिन आउँछन् । उपर्यूक्त ढंगले सहकारी संस्थामा भएका पैसाहरु लगानी गर्न सकिएन भने पक्कै पनि जोखिम बढ्ने खतरा हुन्छ त्यसैले संस्थामा रहेका कर्मचारी, ऋण उप समिति तथा सञ्चालक समितिले संस्था सचालनका लागि आवश्यक पर्ने बिभिन्न खालका ऋण लगानी तथा असूली सम्वन्धि नीति, विधि तथा पद्धतीहरुको उचित व्यवस्थापन सहित पारदर्शि ढंगले कार्य सञ्चालन गर्नुपर्दछ ।
सहकारी संस्थामा तरलतामा केहि बृद्धि हुने बित्तिकै लागु भएका नीति नियमहरुलाई वास्ता नगरी यो र त्यो को नाममा ब्यक्तिगत सम्वन्ध र बढी विस्वासका नाममा लगानी गर्ने परिपाटीले केहि समयको अन्तरालमा नै सहकारी संस्थाहरु धरासयि हुने अवस्था सिर्जना हुन जान्छ र केहि सहकारी संस्थाहरु त्यस्तै बाटोबाट गुज्रिरहेका पनि देख्न पाईन्छन् । त्यसैले स्थापित भएका कूनैपनि नीति तथा विधिहरु र सहकारी संस्था भित्र रहेका बिभिन्न अभ्यासहरुलाई कुनै पनि बहानामा पछाडी नपारी आर्थिक गोपनियता र मर्यादाहरुलाई स्थापित गर्दै अगाडी बढ्नु पर्दछ । यसरी विधिको अभ्यासको सहि उपयोग गर्न सकेमा सहकारी तथा ऋणी दुबैलाई फाइदा भने पक्कै पुग्न जान्छ ।
ऋणसँग सम्वन्धित धेरै बिषयमा सहकारी संस्थाहरुले बिश्लेषण गर्दै अगाडी बढ्नु पर्दछ । नीति र विधि अनुसार ऋण लागनी गर्दै अगाडी बढेमा ऋणीले पनि प्रत्येक किस्तामा आफ्ना ऋणको साँवा ब्याज सजिलै तिर्न नैतिक दवाव पर्न जान्छ र उसले नियमितता दिन थाल्दछ यसरी नियमित रुपमा ऋण असूली भएमा ऋणी तथा सहकारी दुबैलाई फाइदा समेत पुग्ने निश्चित छ जस अनुसार ऋण लाने ब्यक्तिको हकमा ऋणको ब्याजदरको भार कम हुन जान्छ किनभने पहिलो किस्तामा उसले जे जति रुपमा ऋणको ब्याज सहकारीमा बुझाउँछ अर्को किस्तामा उसले अवस्य पनि थोरै मात्रामा बुझाउनु पर्दछ र जसका कारण उसलाई अन्य खालका हर्जना र जरीवानाबाट समेत मुक्ति मिल्दछ ।
यस्तै खालका बिभिन्न फाईदाहरु समेत मिल्न जान्छ जुन बिषयमा ऋणी तथा सहकारी दुवैले महशुस गरी बिश्लेषण समेत गर्न सकेमा सहकारी संस्थाहरु दिगो रुपमा सञ्चालन हुन सक्दछन र आम रुपमा सहकारीको विस्वास बढ्न जान्छ । जस अनुसार अन्य विभिन्न फाइदाहरुमा ऋणको भार कम हुने र ऋणीले अनावश्यक खर्चमा कटौती गर्न थाल्दछ र फजुल खर्च गर्ने वानीको विकास हुनुका साथै समयमा नै ऋण तिर्ने वानीको विकास हुन्छ । यसरी ऋणीले आफ्नो बानीमा सुधार ल्याउँदा सहकारी संस्था प्रति विश्वासिलो भई पुनः सेवा प्राप्त गर्न सजिलो हुने र संस्थामा आबद्ध सञ्चालक तथा कर्मचारीहरु प्रति विस्वास योग्य ऋणीको सूचिमा पर्न गई बिभिन्न खालका आयमूलक कार्य गर्नमा अग्रसर हुनुका साथै ऋणीको आत्म विस्वास र क्षमतामा बृद्धि भई स्वावलम्बन हुने दिशामा लम्किने खालका फाईदाहरु समेत प्रत्यक्ष रुपमा ऋणीले प्राप्त गर्न सक्दछ ।
त्यस्तै खालका बिषयमा सहकारी संस्थालाई पनि फाइदा पुग्ने देखिन्छ जसमा ऋणीले नियमित रुपमा आफ्नो ब्यक्तिगत कारोवार सञ्चालन गर्दै अगाडी बढेमा संस्थामा तरलता समेत स्थिर हुदै जाने र संस्थाको आर्थिक कारोवारमा बृद्धि हुने, सम्पूर्ण सदस्यहरुलाई समयको अन्तरालमा लाभान्वित गर्न सकिने, संस्थामा पूँजीको अभाव नहुने, ऋण डुब्ने सम्भावना न्यून हुने, संस्थाको आम्दानीमा बृद्धि हुने, संस्था दिगो रुपमा सञ्चालन हुनेमा ढुक्क हुन सकिन्छ ।
सहकारी संस्थाहरुमा ऋण लग्ने ब्यक्तिले सजिलै ऋण तिर्छ भन्ने विस्वास कमै गर्न सकिन्छ व्यवसाय राम्रै भएको अवस्थामा समेत कुनै न कुनै वहानामा ऋणीले आफ्ना व्यवहारिक समस्या उत्पन्न गरी संस्थासँग क्रिया प्रतिक्रिया जनाइरहेको अधिकांश सहकारी संस्थामा देख्न सकिन्छ । ऋणी प्रति बढी मात्रामा ब्यक्तिगत बिस्वास राखेर ऋण उठाउने नीति र विधिहरुको ख्याल नगरी पैसा उठ्छ भन्ने हुदैन । संस्थाले अवलम्बन गरेका नीति र विधिहरुलाई नै कानूनी आधार नै बनाउनु पर्दछ सुरुको अवस्थामा नै यसरी खुल्ला रुपमा व्यवहार देखाउन थाल्यो भने संस्था जोखिममा रहने पक्का छ । त्यसैले सहकारी संस्थामा बिभिन्न खालका समस्याहरु आउन सक्दछन् जस अनुसार जसलाई र जुन शिर्षकमा ऋण लगानी हुन्छ वा भएको छ वा छैन भन्ने बिषयमा अनुगमन समेत गर्नु उयर्पूक्त हुन्छ ।
लगानी भएको ऋण सही ठाउँमा लगानी नहुन हुन सक्दछ त्यसै कारण पनि बिश्लेषण सहित ऋण लगानी गर्नु नै उपयूक्त मानिन्छ । सबै भन्दा उपर्युक्त बिषय के हो भने ऋण लगानी गर्दा सम्वन्धित ऋणीले आवश्यक व्यवसायिक योजना बनाएको छ वा छैन ? योजना बिना नै ऋणको फाइल संस्थामा पेश गरेका फाईलहरुलाई ख्यालै नगरी ऋणी छनौट गर्दै ऋण लगानी गर्दा संस्था तथा ऋणी दुबैलाई हानी भने पक्कै हुन जान्छ । व्यवसायिक योजना बनाउनु सजिलो कुरा चाहि अवस्य होइन यसले पूर्णता पाउनका लागि ठूलो मिहेनत अवस्य गर्नुपर्दछ । यो बिल्कुलै प्राविधिक बिषय हो । यस्ता बिषयमा ऋणी स्वयं जानकार हुदैनन भने सहकारी संस्थामा रहेका सञ्चालक तथा कर्मचारीहरु र ऋण उप समितिका सदस्यहरु लाई पनि थाहा नहुन सक्छ यस्ता बिषयमा सहकारी संस्थाहरुले छोटो र छरितो खालको ज्ञान दिनु पनि उपर्युक्त हुन्छ । ऋण लगानी गर्दा व्यवसायिक योजना अनुरुप गरेका लगानी धेरै हद सम्म उपयोगी र सफल समेत हुन्छ किन भने यसले आम्दानी र खर्चको बिश्लेषण गरेको हुन्छ ।
बिना योजनाका ऋण लगानी गर्दा समयमा तिर्न नसकी ऋणी असहज हुन्छ र सहकारीलाई असूली गर्न कठिन पनि हुन्छ ।
ऋण लगानी भई सकेपछि ऋणीले स्वभावैले पनि ऋण तिर्न ढिलो गर्न खोज्दछ किन भने ऋणीले पैसा पाईसकेपछि उसको समस्या समाधान भई सकेको हुन्छ । उसले कि तीर्न सक्दैन कि उ जानी जानी तीर्ने मान्छे म ठूलो हुँ भन्ने खालको मानसिकता लिएर बसेको हुन्छ । त्यसैले सहकारी संस्थामा आर्थिक समृद्धिका लागि ऋण लगानी तथा असूलीमा सिंगो संस्थाको सम्वन्ध नङ र मासुको जस्तै हुन जरुरी छ ।