काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक कार्यसम्पादन मुल्यांकनमा झन् कमजोर देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा काभ्रेको वरियता खस्किएको हो । गृह-मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा काभ्रे ४६ औं स्थानमा रहेको छ ।
आर्थिक वर्ष २०७९/७० को तुलनामा काभ्रे कार्यसम्पादनमा ६ स्थान तल खस्किएको हो । यसअघि काभ्रे ४० औं स्थानमा थियो । गृह प्रशासनले जिल्ला प्रशासनले गरेको कामका आधारमा विभिन्न शीर्षकमा अंक प्रदान गर्दछ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय काभ्रेले ९१.६८७५ अंक प्राप्त गरेको छ ।
कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ । रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।
कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।