धादिङ । संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङको नीलकण्ठ नगरपालिका फेरी प्रथम हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकार सस्थागत स्वमुल्याङकन (LISA) मा नीलकण्ठ फेरी पनि देशभरमै उत्कृष्ट बनेको छ।
देशभरका ७ सय ५३ स्थानीयमध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक पाएको छ। स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ ।
बेनीघाट रोराङले ८७.२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको हो । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक सहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंक सहित तेस्रो भएको छ।
एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी लगायतका सहभागी थिए।
आर्थिक वर्ष २०७५/०७६ मा संघीय मामिला मन्त्रालयले विकास गरेको यो प्रणालीमा सुरुमै नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको थियो । नीलकण्ठ आ.व २०७६/०७७ मा भएको स्वमूल्यांकनमा दोस्रो भएको थियो भने आ.व २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा लगातार तेस्रो पटक देशभरमै उत्कृष्ट बन्न सफल भएको हो ।
नीलकण्ठका नगर प्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको भन्दै जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त गर्न सफल भएको बताए ।
प्रथम स्थान हासिल गराउन भुमिका खेल्ने जनप्रतिनिधी, कर्मचारी लगायत सरोकारवाला निकायहरुलाइ नगरप्रमुख ढुंगानाले धन्यवाद ब्यक्त गरे । नगर उपप्रमुख दिपक विश्वकर्माले यो उत्कृष्ट नतिजाले विकास निमार्ण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा थप परिस्कृत गर्न उत्साह थपेको बताएका छन् ।
विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ। कुल एक सयवटा सूचकको एक सय अंक निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्यांकन प्रणालीमा अंक निर्धारण हुने गर्दछ।
एक सय सुचकको कुल एक सय अंकमा स्थानीय तहले हासिल गरेको उपलब्धिलाई प्रविष्ट गरिसकेपछि स्वमूल्यांकन प्रणालीबाट स्थानीय तहले प्राप्त गर्ने अंक निर्धारण हुने बताईएको छ ।
गाउँ/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।