काभ्रे । नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा बनेपा नगरपालिकाले महिला उद्यमी बढाऔं, समृद्ध नगर बनाऔं भन्ने मूल नाराका साथ बनेपाको लायकु राजमञ्जमा शुभकामना आदान प्रदान तथा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीको बजार प्रर्बद्धन मेला तथा खुल्ला लोकगीत प्रतियोगिता २०८१ आयोजना गरेको छ ।


नगरले विभिन्न समयमा दिएका समूह तथा महिला उद्यमीहरुलाई सिकाएको सीपबाट उत्पादित सामाग्रीहरुको प्रर्दशनी समेत गरेको सो कार्यक्रममा उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रबद्र्धन गरेको तीज पर्वको अवसरमा आयोजना गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाक्यले बजारीकरण तथा बजार व्यवस्थापन नै नगरपालिकाका महिला उद्यमीहरुले प्रमुख समस्या रहेको कुरालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको बताएका छन् । यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


नगर भित्र रहेका सम्पूर्ण महिला उद्यमीहरुलाई सहभागी गराई प्रतिभा प्रस्फुटनका साथै महिला उद्यमीलाई प्रोत्सहान गरिने कार्यक्रमको उद्देश्य रहेको बनेपा नगरपालिकाकी उप–प्रमुख तथा कार्यक्रम संयोजक बिमला सापकोटाले बताइन् । उनका अनुसार, महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको ५८ वटा स्टलमा लप्सी क्यान्डी, कपडा, झोला, जुत्ता, बुनाई, कृष्टल पोते, मह, ढाका बुनाई, ब्याग, योमरी, हाते सामाग्री, खाध्य कृषि, साबुन, हातले काटेको बत्ती, कस्मेटीक पाउडर, नेवारी खाजा, साडी, सेनेटरी प्याड लगाएतका विभिन्न सामाग्रीहरुको स्टल राखिएको थियो । यस प्रकारको कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक सशक्तिकरणको बाटोतर्फ उन्मुख गर्ने उनको भनाई छ ।
कार्यक्रममा शुभकामना दिदैँ बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले यस प्रकारको कार्यक्रमले महिलाहरुमा प्रोत्साहन मिल्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले योजना बनाएको बताएका छन् ।


सोही अवसरमा नगरपालिकाले आयोजना गरेको खुल्ला लोकगीत प्रतियोगितामा नगरको १० वटा समूह सहभागी थिए । जसमध्ये बनेपा नगरपालिका वडा नं ४ बाट पूजाक बस्यालको समूह प्रथम, वडा नं ६ बाट कविता थापाको समूह दोस्रो, वडा नं ९ बाट अम्बिका ढुंगाना ढकालको समूह तेस्रो, वडा नं ५ बाट सम्झना खतिवडा र वडा नं ३ बाट बिमला दाहालको समूह सान्तवना भएको बनेपा नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख बिजया सुवेदीले जानकारी दिइन् । उनका अनुसार, प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सान्तवना हुनेले ३५ सय र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा १४ वटाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी र नगरका महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….