बनेपा – बनेपाको तीनदोबाटोमा बसेर बिहान हेर्ने हो भने काठमाडौं,भक्तपुर र ललितपुरका दर्जनौ बसहरुले विद्यार्थी पढ्नकै लागि लिएर जाने गर्दछन् । यो कुराले दुईवटा कुराको पुष्टि गर्छ । पहिलो काभ्रे जिल्लामा स्थापना भएका क्याम्पस तथा प्लस टुलाई विद्यार्थी र अभिभावले विश्वास नै गर्दैनन् वा बनेपामा विद्यार्थीले रोजेको बिषय पढ्न पाउँदैनन् । काभ्रेको हकमा दोश्रो कुरा लागू हुन्छ । त्रिवि, केयूले बनेपामा आवश्यक रहेको संकायमा अनुमति नै दिदैन । त्यही भएर अभिभावक बाँध्य भएर विद्यार्थीलाई काठमाडौंसम्म पठाउने बाँध्यता रहेको सुनाउँछन् ।
बनेपामा राजर्षि जनक विश्वविद्यालयसँग सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको औपचारिक घोषणा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा बोल्ने प्रमुख वक्ता थिए,क्याम्पसका अध्यक्ष एवं प्रदेश सभाका माननीय कंचनचन्द्र वादेश्रेष्ठ, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र बनेपा नगरपालिका वडा नं ६ का अध्यक्ष सचितानन्द केसी ।
तीन जनाको एउटै गुनासो थियो । बनेपामा नभएकै कारण बिबिए पठाउन आफ्ना सन्तानलाई महङ्गो शूल्कमा काठमाडौैंसम्म पढ्न पठाउने बाँध्यता । बनेपामा सुरु भएको बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले सो कार्यक्रमका वक्ताहरुले भनेजस्तै अभिभावकहरुलाई राहत भने पक्कै दिनेछ ।
बनेपामा लामो समयदेखि विद्यार्थीको माग हो बिबिए र बिएस्सी सिएसआईटी । काभ्रेपलाञ्चोक जिल्लाकै पुरानो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसले बिबिए र बिएससी सिएसआईटीको कक्षाको स्वीकृतिका लागि अनेकौ प्रयास गरेको थियो । दश बर्षदेखि बिबिए र बिएससी सिएसआईटीको कक्षा संचालनको लागि २५ लाखभन्दा धेरै रकम खर्चिएर ल्याब पनि बनायो तर त्रिभुवन विश्वविद्यालय (त्रिविवि) ले सम्बन्धन दिएन । सम्बन्धन लिन काभ्रे बहुमुखी क्याम्पसका प्रमुख केजी वैदार,क्याम्पस संचालन समितिका अध्यक्ष लम्बोधर कायस्थले भोगेको पिडा भनि नसक्नुको छ । तर हिम्मत नहार्दा अवसरको अनेकौ आधार खुल्ला हुन्छन् भन्ने मान्यताले अघि बढ्दा बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी मार्फत विद्यार्थी र अभिभावकको चाहना अनुसारको कक्षा सुरु हुने भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको सामुदायिक क्याम्पसमै आम अभिभावक तथा विद्यार्थीको रोजाईको कक्षा संचालनको योजनाले मूर्त रुप लिने भएको छ । दशबर्षअघि देखि नै निरन्तर भएका प्रयास स्वरुप बनेपाको काभ्रे बहुमुखी क्याम्पसको भवनभित्र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले आफूलाई सार्वजनिक गरेको छ ।
बनेपाबाट उच्च शिक्षाको लागि काठमाडौं जाने बाँध्यताको अन्त्य गराउने उदेश्यले बनेपामा धेरै विद्यार्थीको रोजाईमा रहेको बिबिए र बिएससी सिएसआईटीको कक्षाको सुभारम्भ गरिएको छ । न्यूनतम शूल्कमा काठमाडौंमा नै पाईने स्तरको कक्षा संचालनको उदेश्य लिएर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नै स्नातक तहमा कम्प्युटर साइन्स र बिबिएको अध्यापन सुरु गरेको छ । बिहीबार क्याम्पसमा आयोजित विशेष कार्यक्रममा राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले व्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (विएससी सिएसआइटी) र व्याचलर अफ विजनेस एड्मिनिस्ट्रेसन (विविए) को ८ सेमेष्टरको ४ बर्षे कोर्ष सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।
राजर्षी जनकले नाफारहित सामुदायिक क्याम्पस बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीलाई स्वीकृति दिएको जानकारी गराइएको छ । काभ्रे बहुमुखी क्याम्पसकै व्यवस्थापनमा सोही परिसरमा सञ्चालन हुने कलेजले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । काभ्रे बहुमुखी क्याम्पसमार्फत नै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ती बिषय पढाउन प्रयास गरेपनि सम्बन्ध नपाएपछि कलेज पुर्ण सरकारी स्वामित्वको राजर्षीबाट सम्वन्धन लिएर सुरुवात गरिएको प्रीन्सिपल केजी वैदारले जानकारी दिनुभयो ।
व्याचलर इन इञ्जिनियरिङ (सिभिल) को कक्षा सञ्चालन गर्न पनि कलेजले प्रस्ताव गरको छ । बिहीबार आयोजित परिचयात्मक कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरका नानीबाबुले पढ्न पाउन भन्नको लागी कलेजलाई सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरका विभिन्न विद्यालयमा प्राविधिक बिषयको पढाई थालिएको र त्यसको टाईअप यो क्याम्पससँग गरिने बताउनुभयो । काभ्रे बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष लम्वोदर कायस्थले काभ्रे क्याम्पस र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी एकै भएपनि प्रक्रियागत रुपमा फरक भएको स्पष्ट पार्नुभयो । उहाँ बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको संचालक समितिको उपाध्यक्ष हुनुहुन्छ ।
नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले काभ्रेमा छुट्टै पहिचान बनाएका काभ्रे बहुमुखी क्याम्पस र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीलाई छुट्टाछुट्टै लग्यो भने त्यसले सफलता प्राप्त गर्न नसक्नेप्रति सचेत गराउनुभयो ।
बनेपा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सचितानन्द केसिले काभ्रेका आफनै गाउँघरमा, सर्वशुलभ शुल्कमा पढ्न पाउने बिश्वास व्यक्त गर्नुभयो ।
कलेज संचालक समितिका अध्यक्ष कन्चनचन्द्र वादेले शुलभ शुल्कमा प्राविधिक शिक्षा दिने उद्देश्यका साथ सामुदायिक क्याम्पस स्थापना गरिएको भन्दै सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो । प्रिन्सिपल वैदारले काठमाडांैका कजेलको शूल्क र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले लिने शूल्कको बारेमा पूर्णै जानकारी गराउनुभयो ।
प्राध्यापक माधव तिमल्सिनाले संचालन गर्नुभएको कार्यक्रममा प्राध्यापक कृष्णप्यारी नकर्मीले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । पत्रकार सम्मेलनमा नगेन्द्र अधिकारी, विनोद विके र केशवराज पौडेलले बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले दिने सेवा सुविधाको बारेमा जिज्ञासा राख्नुभएको थियो । पत्रकारको जिज्ञासा मेटाउँदै प्रिन्सिपल वैदारले बजारमा साह्रै महङ्गो शूल्क तिरेर पढ्नु पर्ने बिषयमा न्यूनतम शूल्कमा पढाउने संकल्प गरेको जानकारी दिनुभयो । – काभ्रे हेडलाईन