नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आज (सोमबार) नवदुर्गाको पाँचौँ रूपअन्तर्गत शक्तिस्वरूपा देवी स्कन्दमाता भगवतीको पूजा-आराधना गरिँदै छ । भगवान् स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रिको पाँचौँ दिन उहाँलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले काइनेटिक अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । यस्तै, देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधना, पूजा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका, भोजपुरको सिद्धकाली, अर्घाखाँचीको अर्घा र खाँची, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा-आराधना हुनेगर्छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा-आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।