आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतमले कार्यक्रम यहि मंसिर १४ गते काठमाण्डौं विश्व विद्यालयमा उद्घाटन समारोह गरिने त्यसमा प्रमुख अतिथि, शिक्षक प्रतिनिधिहरू, र विद्यार्थीहरू व्यवसायी उद्यमीहरुको व्यापक सहभागिताबीच आइडिया कर्मीहरुको प्रस्तुत गर्ने कार्यक्रमा समेत रहने बताइएको छ । आइडिया बैंकले विद्यार्थीहरूका नवीनतम विचारलाई वास्तविक कार्यान्वयनतर्फ अघि बढाउने उद्देश्य लिएको छ। गौतमले भने, `आजको बदलिँदो संसारमा विद्यार्थीहरूलाई सिर्जनात्मक र व्यावहारिक शिक्षामा अभिप्रेरित गर्न आवश्यक छ। यस बैंकले विद्यार्थीहरूको विचारलाई समाजका लागि उपयोगी बनाउनेछन ।´ उनीहरूको आइडिया लाई वेबसाइट मार्फत उनीहरूको पासवर्ड राखेर मात्रै हेर्न मिल्ने किन्न मिल्ने गरी राखिनेछ, जसमा कुनै उद्योगी व्यवसायी ले उनीहरूको आइडिया खरिद गरी कार्यान्वयन गर्न सक्नेछन् ।
सोही कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन मार्फत सबै तयारी पूरा गरिएको बताउँदै सहभागीहरूले शिक्षण पद्धतिमा सुधार, नवप्रवर्तनशील सोचको प्रवर्द्धन, र डिजिटल प्रविधिको उपयोगजस्ता विषयहरूमा आफ्ना विचार समेत राख्न सक्ने गौतमले बताए ।आइडिया बैंकले विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ। गौतमका अनुसार आइडिया बैंकको मुख्य उद्देश्य विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने हो। आइडिया बैंक बेरोजगारीले प्रताडित क्षमतावान युवाहरुको सक्रियता र उनीहरुलाई आशावादी बनाउन पनि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सबैलाई यस कार्यक्रमको सफलताका लागि सहकार्य गर्न आग्रह गरेका छन्।
आइडिया बैंकमा ५१ वटा आइडिया विचारहरू आएको भए पनि निर्णायक मण्डलले टप १० आइडिया लाई प्राथमिकतामा राखेर छनोट गरिएको र त्यस मध्ये बाट तीन वटा लाई क्रमसः ५० हजार ,३० हजार र २० हजार नगद सहित पुरस्कृत गरिने समेत कार्यक्रम रहेको बताइएको छ । समाज रूपान्तरणको दिशामा एउटा महत्त्वपूर्ण कदमको रूपमा आइडिया बैंकको प्रभावकारीता हालका दिनमा अझ बढी देखिन सक्ने,यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन दिनेछ, समाजमा सकारात्मक परिवर्तन ल्याउन पनि योगदान पुर्याउने विश्वास लिएको बताइन्छ ।