चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे ।
नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । साे प्रतियोगिताबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा नगर प्रमुख खत्रीले उक्त प्रतियोगिताकाे तयारी व्यापक गरिएको जानकारी दिए ।
`चाँगुनारायण नगरपालिकामा रहेका मूर्त- अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयाेग पुर्याउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकाेट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि वडा नं . ९ मा धिमय् बाजा प्रतियोगिता गर्न लागेका हाैं´, उनले भने , `नगरकाेट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने याे प्रतियोगिताले नगरकाेट भ्रमणकाे प्रचारप्रसार गर्न पनि सहयोग पुग्नेछ ।´
नगरपालिकाले उक्त प्रतियोगिताका लागि वडा नं. ९ स्तरीय व्यवस्थापन समिति पनि गठन गरिएको उनले जानकारी दिए ।
साे प्रतियोगितामा विजेता टाेलीलाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीयलाई रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनालाई रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट)लाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १-१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएकाे नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको साे प्रतियोगितामा सहभागी हुन प्रतिसमूहदर्ता शुल्क १ हजार रूपैयाँ निर्धारण गरेकाे छ ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयाेजकले जनाएको छ । साे पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले धिमय् बाजा प्रतियोगिताले समग्र नगरपालिकाकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
प्रतियोगिताको लागि ११ लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ लगायतका जिल्ला र ती जिल्लाका नगरपालिका, गाउँपालिकाबाट गरी करिब ५० वटा टोलीको सहभागिता रहने अपेक्षा आयाेजकले गरेकाे छ ।