नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय देखि पाइला चालेका नायक सबिन श्रेष्ठ आज भोलि निकै चर्चामा आउने गरेका छन् ।नेपाली चलाचित्र क्षेत्रमा सफल नायकको रुपमा स्टाब्लिश भएका नायक सबिन श्रेष्ठ पाँच दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक सबिन श्रेष्ठ फिगर मेन्टेन गर्ने नायकका रुपमा चिनिन्छन् । प्रेमकथा र एक्सन चलचित्रमा जमेका नायक हुन् सबिन श्रेष्ठ उनै नायक श्रेष्ठसँग नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको कुराकानी
० पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
पछिल्लो समय लकडाउन अघिका व्यापार, व्यवसाय लकडाउनले रोकिएपछि फिल्म बालापनको सुटिङ सकाएँ । त्यो सँगै म आफैं निर्माता र कलाकारका रुपमा एक प्रोजेक्ट गर्दैछु । जसको नाम अहिले फाइनल भएको छैन । आगामी वैशाखदेखि दिनेश खड्काको वेब सिरिज ए घरबेटी बा भन्ने रिलिज हुँदैछ । त्यसको निर्देशकले एउटा एक्सन फिल्म बनाउँदैछन् । त्यो फिल्ममा हिरोका रुपमा नभई भिलेनका रुपमा अभिनय गर्दैछु । त्यसको तयारी भइरहेको छ । त्यसको स्क्रिप्टको काम भइरहेको छ । तेक्वान्दो सिकिरहेको छु ।
० वेब सिरिजको कन्सेप्ट कसरी आयो ?
वेब सिरिज चाहिँ मैले नै आफ्नो च्यानलका लागि बनाएको हो । यसमा म र अनु शाह निर्माता छौं । युट्युब च्यानल आफ्नै भएको र १० वर्ष अगाडि पनि चलेको सिरियल । किन त्यसलाई नबनाउने भनेर पुरानै टिम बसेर कुराकानी हुँदा बनाउने निर्णय भयो । अहिले पाँच भागको सुटिङ भइसक्यो । सम्पादनको काम भइरहेको छ । दर्शकले १५ देखि २० दिन भित्र हेर्न पाउनुहुनेछ ।
० फिल्म क्षेत्रमा कसरी प्रवेश भयो ?
यसको एउटा रमाइलो कथा छ । नेपाल टेलिभिजन र युनिसेफको संयुक्त लगानीमा क्याटमाण्डु भन्ने सिरियल बनेको थियो । यसमा म कलाकार जंगेका रुपमा काम गरेको थिएँ । त्यसपछि म आफैं आयोजक, क्याटवक सिकाउने र क्याटवक पनि गर्ने भएकाले त्यो गर्दागर्दै घरबेटी बा, कलेज सिरियल गरें । यो काम भइरहँदा अशोक शर्मा, उज्जवल घिमिरे र छविराज ओझाको ब्यानर फार मुभिजले अन्दाज बनाउने तयारी गरिरहेको थियो । फिल्मले नयाँ हिरोको खोजी गरेको रहेछ । रेखा थापाले मलाई घरबेटी बा, कलेजमा हेरिरहनुभएको र उज्जवल दाजुले पनि लुक्स हेरिरहनुभएको हुनाले मलाई बोलाउनुभयो । अनि सिधै उज्जवल दाईले छविराज ओझाको अगाडि उभ्याएर मैले खोजेको हिरो यही हो भनेर एग्रिमेन्ट गरेर पठाउनुभयो । त्यसपछि मेरो फिल्मी यात्रा सुरु भयो ।
० अभिनय प्रति तपाईंको बाल्यकालदेखि नै हो कि ?
म अभिनय गर्छु, कलाकारितामा लाग्छु भन्ने सोच त पहिलेदेखि थिएन । मोडलिङ गर्दागर्दै क्याटमान्डु गरें । त्यहाँ नवराज आचार्यसँग सम्बन्ध राम्रो भयो । अनि उसले नै घरबेटी बा भन्ने सिरियल बनाउने निर्णय लिए पछि उसले नै बोलाएर शम्भु चरित्रका लागि लुक्स टेस्ट भयो । यसरी नै अभिनयको सुरुवात गरें ।
० आफूलाई हिरो बन्छु भन्ने चाहिँ कहिलेदेखि लाग्यो ?
फिल्ममा हिरो बन्छु भन्ने कहिल्यै सोच नै आएन । यसमा उज्जवल घिमिरे, छविराज ओझा, रेखा थापाले नै छनोट गर्नुभयो । मोडलिङमा लाग्दा म हिरो छु भन्ने फिल हुन्थ्यो । सिरियल गर्दा पनि टाइमपासको रुपमा, रमाइलोको लागि साथीभाईको लहै लहैमा लागेर गरेको हो । उज्जवल दाईले लगेर साइन गराउँदा पनि मलाई खासै केही भएन । पोस्टर, ट्रेलर देखेपछि ओहो ! म पनि गर्न सक्छु है भन्ने फिल भयो ।
० अभिनयकै लागि प्रशिक्षण पनि लिनुभयो होला नि ?
सिरियल क्याटमान्डु गरिरहँदा नितेशराज पन्त र लय संग्रौलाबाट नै अभिनय सिकें । त्यसपछि फिल्म अन्दाज गरिरहँदा उज्जवल दाईबाटछ काम के हो भन्ने कुरा सिक्न पाएँ ।
० अभिनयमा लाग्दा परिवारबाट कत्तिको समर्थन र सहयोग पाउनुभयो ?
मलाई परिवारको पूर्ण समर्थन छ । मैले जे काम गर्दा पनि परिवारको समर्थन थियो । मलाई परिवारले कुनै पनि कुरामा नाइँ नास्ती गरेन ।
० तपाईंको बुझाईमा एउटा हिरो हुन के—के कुरा आवश्यक पर्दा रहेछन् ?
पहिलो कुरा आत्मविश्वास हो । अनि आफू कुन क्षेत्रमा लागेको हो, त्यो क्षेत्रको सम्पूर्ण ज्ञान हुनुपर्छ । अभिनय, फाइट, डान्सलगायतका सबै किसिमका प्रशिक्षण लिएर आउनुपर्छ ।
० एक समयमा तपाईं फिल्ममा व्यस्त हुनुहुन्थ्यो । तर अहिले त्यो व्यस्ततामा कमी देखिएको छ । कारण के हो ?
एक समयमा हरेक शुक्रबार मेरो दुईवटा फिल्म रिलिज हुन्थ्यो । एक समयमा मैले ब्याक टु ब्याक फिल्म पनि गरें । त्यो सँगै मैले आफ्नो व्यावसायलाई पनि अगाडि बढाउन थालें । मैले कार वास, मोबाइल शो रुम, भेहिकल सम्बन्धी व्यापार सुरु गरें । यो लकडाउन अघिको कुरा हो । अभिनयबाट ब्रेक पनि हुन्छ र आफ्नो व्यवसाय पनि सुरुवात हुन्छ भनेर दुई वर्षमा म त्यसमा लागें । लकडाउन साढे दुई वर्ष भयो । साढे चार वर्ष त्यही गयो । त्यसरी ब्रेक भएको हो । त्यसलगत्तै बालापन गरें । अनि यही क्षेत्रलाई माया गर्न नेपाल चलचित्र कलाकार संघको चुनाव भयो । त्यसमा महासचिव पदमा जितें । अहिले मेकिङ र अभिनयतिरै लागेको छु ।
० अभिनयमा लागेपछि तपाईंले पाएको र गुमाएको कुरा केही छ ?
गुमाउनु भन्दा पनि मैले धेरै चिज पाएको छु । मैले दर्शकबाट नसोचेको माया पाएको छु । मेरो लाइफस्टायल परिवर्तन भयो । सस्टेन हुन मैले त्यहीबाट पैसा पनि कमाएँ । इज्जत पनि कमाएँ । दुई वर्ष व्यवसाय गर्दा चाहिँ अभिनय र सुटिङको माहोल त्यो गुमाएको थिएँ ।
० तपाईंको बुझाईमा हिरोको परिभाषा के हो ?
पर्दामा देखिने पात्रले समाजलाई पनि राम्रो अवसर दियोस् । राम्रो काममा अग्रसर गराओस् । उसको कामले समाजमा राम्रो प्रभाव छोडोस् । थोरै भए पनि उसले अभिनयमार्फत समाजलाई परिवर्तन गर्न सकोस् ।
० नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा अझ बढी विस्तार गर्न कसरी सकिन्छ जस्तो लाग्छ ?
मुख्य कुरा प्रविधि हो । कामको हिसाबले कुनै पनि देशको फिल्म क्षेत्रभन्दा हामी कम छैनौं । मलाई लाग्छ कि उनीहरुभन्दा हामी बढी मेहनत गर्छौं । उनीहरु सिफ्ट वाइज गर्छन्, तर हामी दिनरात नभनी काम गर्छौं । कामको हिसाबले हामी परफेक्ट छौं । प्रविधि र बजेटको हिसाबमा अलिकति विकास गर्न पायो भने कुनै पनि देशको फिल्म क्षेत्रभन्दा हामी कम हुँदैनौं ।
० अभिनय विधाबाट तपाईंले के कति सम्मान, अवार्ड प्राप्त गर्नुभएको छ ?
मैले पहिलो फिल्म अन्दाजबाट डेब्यू एक्टरको नेफ्टा अवार्ड पाएँ । त्यसपछि लगत्तै हवल्दार सुन्तलीबाट बेस्ट सपोर्टिङ एक्टरको अवार्ड पाएँ । अनि मैले आफैं निर्माण गरेको हिरो रिटर्नसबाट अस्ती भर्खरै डी सिने अवार्ड मा बेस्ट नायक अवार्ड पाएँ । यो सँगै विभिन्न क्षेत्रबाट मान सम्मान पाइरहेको छु ।
० अन्तमा तपाईंका फ्यान अथवा दर्शकले पर्दामा हेर्न चाहिरहेका छन् । दर्शकको चाहना कहिले पुरा होला ?
अब २०८२ मा आउँछ कि । हामीले बालापनको सुटिङ सकाएर पोस्टको काम लगभग सकिन लाग्यो । त्यसपछि मेरै निर्माण र अभिनय रहेको दुईवटा प्रोजेक्ट पनि आउँछ । मेरो विचारमा २०८२ मा तीनवटा फिल्म दर्शकमाझ आउँछ ।