काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन विष्टले आफ्नो ब्यक्तिगत खर्चबाट एईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
वडाध्यक्ष विष्टले पूर्व घोषणा गर्नुभए अनुसार वडा नम्बर ८ कै डेडीथुम्का माध्यमिक विद्यालय ढोडिनीबाट २०८० सालको एसईई परीक्षामा सहभागि भएर उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
आज एक कार्यक्रमको आयोजना गरेर वडाध्यक्ष विष्टले पुरस्कार प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । २०८० को एसईईमा ३.२८ जिपिए ल्याउने दुर्गा ठकुरीलाई नगद ४० हजार रुपैयाँ, ३.०१ जिपिए ल्याउने इश्वर घिमिरेलाई नगद २५ हजार रुपैयाँ, २.९१ जिपिए प्राप्त गरेकी रोजिना सापकोटालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी २.८८ जिपिए ल्याउने रुविना नेपाललाई नगद २५ हजार रुपैयाँ र २.८५ जिपिए ल्याउने पुजा ढुंगानालाई नगद २५ हजार रुपैयाँगरी जम्मा १ लाख ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण गर्दै वडाध्यक्ष विष्टले पढाईप्रति उत्प्रेरणा र उत्साह थप्ने उद्देश्यले पुरस्कारको घोषणा गरेको बताउनुभयो । यसैबीच वडाध्यक्ष विष्टले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक सहित उत्तिर्ण हुनुहुने बिद्यार्थीलाई पनि उचित सम्मान र पुरस्कृत गर्ने बताउनुभयो ।