काठमाडौं – केही दिनअघि सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चौतर्फी आलोचना र प्रदर्शन भइरहेको छ।
केही समयदेखि विश्व शान्तिको लागि पूजा र ध्यान गरिरहेका मनाङ्ग गुम्बाका मानिसहरू पनि कुलमानको पक्षमा शान्तिपूर्ण पदयात्रामा उत्रिएका छन्।
गत शुक्रबार काठमाडौँको स्वयम्भूमा मनाङ समाज , मुस्ताङ समाज र नेस्याङ मनाङ ओमेन सोसाइटीको आयोजनामा एक कार्यक्रम गर्दै कुलमान घिसिङको समर्थनमा शान्ति पदयात्रा गरिएको थियो ।
उक्त कार्यक्रम मनाङ गुम्बा स्वयम्भूबाट पदयात्रा सुरु गरेर स्वयम्भू गुम्बा परिक्रमा गरेर मनाङ गुम्बामा समाप्त भएको थियो भने कार्यक्रममा हिमाली क्षेत्रका हजारौं मानिसहरूको उपस्थिति देखिन्थ्यो ।
पदयात्रामा कोही घाइते होला भनेर उनीहरुले एम्बुलेन्सको व्यवस्था समेत गरेका थिए।
उनीहरूले कुलमान घिसिङको फोटो र प्लेकार्ड सहितका पदयात्रा गरेका थिए भने कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणमा पुन पदस्थापना गर्नुपर्ने समेत जोड दिएका छन्।