‘विष्णु माझी कस्ति छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनको स्वेच्छा कि बाध्यता ?’, ‘मान्छे सामाजिक प्राणी भएपछि समाजमा घुलमिल हुन खोज्छ । उनले गुप्तवास जीवन बिताउन चाहिरहेको हो भने किन ?’, ‘कस्तो खालको जीवन उनले खोजेको हो ?’, ‘श्रीमानले नजरबन्दमा राखेर उनी सार्वजनिक नभएकी हुन् कि ?’, ‘त्यसो हो भने उनले विद्रोह गर्थिन् होला ।
यी र यस्तै दर्जनौं चासो, चिन्ता र जिज्ञासाहरू उनीमाथि केन्द्रित छ । यीनै सवालले उनलाई ‘हटकेट’ बनाएको छ । त्यसमा सोसल मिडिया (फेसबुक, टिकटक)ले बढी नै मलजल गरेको छ । यही मेसोमा विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् । उनको गीतमा यतिधेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने सायद गुप्तवास बसे पनि उनको यतिधेरै सोधीखोजी हुँदैनथ्यो होला । अवस्था यस्तो छ कि उनका हरेक गीतलेस्रोता÷दर्शकलाई अत्यधिक तानिरहेको छ ।
तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबारमात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक÷स्रोतालाई तान्ने आँकलन गरिएको छ ।सांगीतिक बजारमा फेरी केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूले अनुमान छ । यतिसम्मकी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि ‘ब्याक’ भएका छन् ।
एक चलेका लोकगायकले अनलाइनखबरसँग भने, ‘आज दशैं तिहार गीत सार्वजनिक गर्ने तयारी गरेका थियौं । तर, हिजो साँझ विष्णु माझीको गीत सार्वजनिक भएछ । अब आज र भोलि त्यस गीतको रेस्पोन्स हेरेर मात्र हाम्रो गीत सार्वजनिक गर्नुपर्ला ।’तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज)मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।