काठमाण्डौ – नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा उनको जोडदारको भूमिका रहेको छ । मृदुभाषी युनिटमा सहज उपस्थिति जनाउन सिपालु घिमिरे निर्माताहरुको पहिलो रोजाइको कलाकार हुन् । कथावस्तु चयन, अभिनयमा मौलिकपन दिने नायक पुष्ट बहादुर घिमिरेले गरेको कुराकानीमा आधारित अंशको प्रस्तुती :
हाल केमा ब्यस्त हुनुहुन्छ ?
केही समय चाडवाडका कारणले व्यस्त भईयो। दशैं लगतै निर्माण हुने भनिएको चलचित्रको स्क्रिप्ट अध्यायनमा पनि ब्यस्त छु ।
तपाईंको नयाँ चलचित्र प्रदर्शनमा आउने क्रममा छन् कि ?
अहिले तत्काल त्यस्तो केही छैन । विविध कारणले केही चलचित्र प्रदर्शनमा आउन सकिरहेको छैन । अब माहोल केही समान्य बन्दै आइरहेको छ । आशा गरौं चाडै नै प्रदर्शनमा आउने छ ।
तपाईले नेपाली चलचित्र क्षेत्रलाई कसरी हेरिरहनु भएको छ ?
नेपाली चलचित्रको कुरा गर्नुपर्दा कहिले केले कहिले केले प्रभाव पारि नै रहेको हुन्छ । पछिल्लो अवस्थाको कुरा गर्ने हो भने कोरोना भाइरसका कारणले नेपाली चलचित्र क्षेत्र थला परेको छ । महाभूकम्प पछि बिस्तारै बिउँतिन थालेको चलचित्र क्षेत्र कोभिडले थला पारिदियो । केही चलचित्र चल्न थालेका थिए । तर, पछिल्लो करिब दुई वर्षयता देशमा लागेको लकडाउन खुकुलो भएपनि त्यसको प्रभाव हटेको छैन । चलचित्र प्रदर्शनमा आएपनि हलमा दर्शक पुग्न सकिरहेका छैनन् । चलचित्र निर्माणमा प्रतिस्पर्धा थियो, अहिले त्यो बाताबरण छैन । बिस्तारै यसमा सुधार हुने आशामा छु ।
हल खुले पनि निर्माताले नयाँ सिनेमा दिएनन् भन्छन् नि ?
कुनै पनि व्यवसायमा फाइदा देख्दैन भने उसले आफ्नो सामान बजारमा पठाउँदैन । सरकारले हल सञ्चालनमा अनुमति दिएपनि हल सञ्चालकहरुको अवस्था भने सहज बन्न सकेको छैन । दर्शक हलसम्म पुग्न सकिरहेका छैनन् । दर्शक नभएपछि कसरी लगानी उठ्छ भन्ने चिन्ता लगानीकर्तालाई हुने नै भयो । यस्तो अवस्थामा पनि ‘डाँडा पारीको वरपिपल’ र अर्को एक चलचित्र प्रदर्शनमा आएकै हो । दर्शक हुनु वा नहुनु अलग कुरा हो । लामो समय हल बन्द हुँदा दर्शकहरुले पनि चलचित्रको विकल्पमा अरु कुनै मनोरञ्जनको उपाय अपनाए होलान् ।
कोरोनाका कारणले बेरोजगार बनेका कलाकर्मीहरुको अबको अवस्था कस्तो देख्नु हुन्छ ?
निषेधाज्ञा र चार्डपर्वका कारण चलचित्र निर्माणमा कमी देखिएको भएता पनि पुनः चलचित्रको छायांकन शुरु हुन थालेको छ । चलचित्रको निर्माणको क्रम पनि तिव्र रुपमा वढिरहेको छ, यो उत्साह जनक अवस्थापनि हो । एउटा चलचित्रमा कम्तिमा पनि ५० जनाले रोजगारी पाउँछन् । यो रोजगारी बचाउन पनि चलचित्र बन्नु पर्छ र सरकारले पनि यो कठिन अवस्थामा सहयोग गर्नुुपर्छ जस्तो लाग्छ मलाई । यस क्षेत्रमा प्रत्यक्ष प्रभावित २५ हजारदेखि ३० हजारको हराहारीको जनशक्तिलाई टिकाई राख्न पनि सरकारको निति प्रष्ट हुनुपर्दछ भने चलचित्र सम्वन्धि काम गर्ने संस्थाहरुको भूमिका पनि अहम् हुनुपर्छ । यसो भयो भने निराशा बनेका सिनेकर्मीको अनुहारमा फेरी आशाको किरण छाउनेमा विश्वास गर्न सकिनेछ ।
एउटा स्टारको लागि निर्माताले लगानी गरेकोे हुन्छ कलाकारको भूमिका चाहिँ के रहन्छ ?
कुनै पनि कलाकार, प्राविधिक वा निर्देशकको एकल प्रयासले चलचित्र सफल हुने होइन । चलचित्र सफल हुन कलाकार मात्रै नभएर निर्देशक देखी स्पट ब्वाई समेत सम्पूर्ण टिमको आ–आफ्नो जिम्मेवारी अनुसारको मिहेनत हुनु जरुरी हुन्छ । त्यसमा पनि टिम क्याप्टेन अर्थात् निर्देशक अलि बढी जिम्मेवार हुनुपर्छ । यदि मेरो निर्माताले मलाई दोहो¥याएर लगानी गर्दैन भने ममा ठूलो समस्या छ भन्ने बुझ्नुपर्छ । नेपाली सिनेमामा कर्पोरेट हाउसको लगानी छैन । दुःख गरेर कमाएको पैसा निर्देशकलाई वा स्टारको विश्वासमा लगानी गरेको हुन्छ । त्यसैले निर्मातालाई कसरी बचाउने पहिलो प्राथमिकता हो । चलचित्रले निर्मातालाई फाइदा गरेमात्र उसले बल्ल चलचित्र बनाउने जांगर देखाउँछ । त्यसैले हामी कलाकारले पनि विषयवस्तु अनुसारको भूमिकामा न्याय गर्न सक्नुपर्छ अनि मात्र चलचित्र सफल हुन्छ ।
तपाईको विचारमा राम्रो चलचित्र बनाउन के गर्नु पर्ला ?
चलचित्रलाई मनोरञ्जनको साधानको रुपमामात्र नलिएर समाजको ऐना पनि भनिन्छ । त्यसैले दर्शक रुचीको मनोरञ्जनसँगै सन्देश पनि दिँदै जानुपर्छ । प्रस्तुत गर्ने विविध पक्ष हुन्छ । यसका लागि सबैभन्दा पहिले आफैं क्लियर हुनुपर्छ । चलचित्र कसरी राम्रो बनाउनुपर्छ भनेर सम्पूर्ण टिमले जिम्मेवारी महसुस ग¥यो भने मात्र चलचित्र राम्रो बनाउन सकिन्छ र जन जीवनको मनछुने अथवा आम दर्शकहरुको मनमा वस्ने सिनेमा वनाउन सके पक्कै पनि सफल हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।
नेपाल भन्दा बाहिर हाम्रा चलचित्र चलाउन सकिन्छ कि सकिन्न ?
जसरी हलिउड र बलिउडका चलचित्र हामी कहाँ अर्थात अन्य देशहरुमा सहज रुपमा प्रदर्शन हुन्छन् त्यसैगरी नेपाली चलचित्रको पनि देश बाहिर बजार खोज्नु पर्छ । हुनत यो विषयमा बेलाबखत आवाज नउठेको भने होइन तर कार्यन्वयन हुन सकिरहेको अवस्था छैन । संसारको धेरै देशमा नेपाली पुगेका छन् । नेपालीहरुको बाहुल्यता भएका ठाउँमामात्र नेपाली चलचित्र पु¥याउन सक्ने हो भने पनि आर्थिक रुपले ठुलो सहयोग पुग्ने देखिन्छ । अचम्मको कुरा त हामीले छिमेककोे बजारलाई समेत समेट्न सकेका छैनौं भने टाढाको के कुरा गर्नु । यहाँ सम्मकी हामी हाम्रै काँकडभिट्टा पारिको नेपालीभाषी सिक्किम, दार्जिलिङ, असामसम्म हामी पुग्न सकेका छैनौं ।यो नेपाली चलचित्र क्षेत्रको लागि यो दुःखको कुरा हो । विश्वभरी नेपाली भाषी भएता पनि एकाध चलचित्रकोे च्यारेटी गरेर यो क्षेत्रलाई मद्दत पुग्न भन्नेमा म व्यक्तिगत रुपमा सहमत छैन तथापी यो प्रयास गर्नु पनि आफैंमा सह््रानिय कार्य पनि हो तर प्रयाप्त भने होईन । त्यसैले यसमा ब्यक्तिको पहल भन्दा पनि राज्य स्तरबाट पनि सार्थक पहल हुनु जरुरी छ ।
तपाईले डिजिटल प्लेटफर्मबाट चलचित्र सार्वजनिक हुनुुलाई कसरी लिनुभएको छ ?
यो समयको माग हो किन भने संसारै डिजिटलमय बनिसकेको छ । डिजिटल बजारको संभावना विश्व बजारमा चलचित्रले पारेको प्रभावले निर्धारण गर्छ । हलिउड, बलिउड, टलिउडका चलचित्रको प्रभाव विश्वभर छ । त्यसैले ती चलचित्र जुनसुकै प्लेटफर्ममा राखे पनि विश्वभरबाट हेरिन्छ र व्यापार राम्रो हुन्छ । हामी कहाँ चलचित्रका दर्शक कम छन् । त्यसमा पनि केही चलेका ब्यानरको मात्रै हेर्छन । अर्को कुरा हाम्रा चलचित्रका दर्शक नेपालभित्रै छन् । त्यसैले डिजिटल प्लेटर्फममा ठूलो लगानी हुन सकेन । हाम्रा चलचित्र गुणस्तरीय भएर विश्व बजारमा पुग्न सकेको भए हाम्रो आफ्नै डिजिटल प्लेटफर्म चाहिँदैन थियो । विश्वका चलेका प्लेटफर्मले नै हाम्रा चलचित्र लिने थिए । यसतर्फ पनि सरोकारवाला जागरुक हुनुपर्ने बेला आइसकेको मैले महशुस गरेकोछु ।