सोलुखुम्बु, १७ मङ्सिर । सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जान थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जाने गरेका छन् ।

पर्यटन मौसम सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । त्यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौँ गएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ ।

ठमोकी मिङ्मा छम्जी शेर्पाले भन्नुभयो – “अब त चिसो निकै बढ्यो अब केही दिनमा नै गौतम बुद्धले ज्ञान हासिल गरेको ठाउँ भारतको बोधगयासम्म जान्छौँ, गतसाल काठमाडौँ गएका थियौँ, यस वर्ष स–परिवार बोध गया जाने योजना छ ।” यसबेला पर्यटकीय मौसम लगभग अन्तिम चरणमा पुगेकाले स्थानीय बासिन्दा फागुन, चैत महिनाका लागि दाउराको जोहो गरिरहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सीमित जङ्गलबाट यहाँका स्थानीयवासीलाई दाउरा ल्याउन दिइन्छ । केही दिन दाउरा सङ्कलन गरिसकेपछि जाडो छल्न जाने उनीहरु बताउँछन् ।

झनै नाम्चे–८ थामेका स्थानीय बासिन्दा त प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीयवासी जाडो छल्न काठमाडौँ जाने गरेको यति माउन्टेन होम थामेका कुक अर्जुन मगरले बताउनुभयो ।

विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीयवासी पछिल्लो समयमा नेपाललगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् । जोर सल्लेकी दावाजाङ्मु शेर्पा भन्नुहुन्छ – “यस क्षेत्रका स्थानीयवासी जाडो छल्नका लागि नेपालका विभिन्न तीर्थधामसमेत जाने गरेका छन् ।”

खुम्बु क्षेत्रमा पर्यटन मौसम सकिन अब केही दिनमात्र बाँकी रहेको स्थानीयवासीको भनाइ छ । क्रिसमस डेको समाप्तिसँगै पर्यटन मौसम पनि सकिने यहाँका स्थानीयवासी बताउँछन् । डिसेम्बर १५ तारिखभित्र खुम्जुङ ठाङ्नाकका सबै स्थानीयवासी एवम् होटल व्यवसायी जाडो छल्न हिँडिसक्ने खुम्बिला लज एन्ड रेस्टुरेन्टका सञ्चालक लाक्पा शेर्पाले बताउनुभयो ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ छ । मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटन मौसममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….