बनेपा, विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षण लागि परेका काभ्रेली युवा राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
माण्डव्यले लेखेको गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् भने माण्डव्य र बस्नेत दुवैको स्वर रहेको छ ।
सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, कलाकार सुरवीर पण्डित, पूर्व प्रहरी उपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतलाई देख्न सकिन्छ ।
निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व र झण्डा हाम्रो गौरव भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको बताए ।
शनिबार काठमाडौंमा आयोजित गीतको भिडियो सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डित, हृदयेस त्रिपाठी लगाएतले आफ्नो मौलिकता नबिर्सन आग्रह गरेका थिए । नव क्षितिज साप्ताहिकबाट