भक्तपुर– पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमण दर बढाइरहेको बेला मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको Moderna खोप दिइएको छ ।
विद्यालयमा अध्ययनरत २ सय ४६ जना विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको Moderna खोप विद्यालयमा नै खोप केन्द्र राखी दिइएको हो । नंखेल स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वको टोलीले विद्यार्थीहरुलाई मोर्डना खोपको पहिलो मात्रा लगाएको हो । नंखेल स्वास्थ्य चौकीको समन्वयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १ सय २ जना छात्रा र १ सय ४४ जना छात्रहरुलाई मोर्डना खोपको पहिलो मात्र लगाइएको हो ।
सूर्यविनायक–९, नंखेलमा अवस्थित रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकीलाई धन्यवाद दिएका थिए । प्रिन्सिपल खड्काले देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चित गर्नु पर्ने धारणा राखेका थिए । खड्काले कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा प्रत्यक्ष नकारात्मक असर पर्नुका साथै देशको शिक्षाको स्तर नै खस्कने भएकाले यस तर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिन आवश्यक रहेको धारणा राखे । उनले विद्यार्थीहरुको पठनपाठनको कार्यक्रम निरन्तर संचालन गर्नतर्फ सरोकारवाला निकाय सजग हुनुपर्ने बताए ।