बनेपा – काभ्रेको डाँडापारी क्षेत्रलाई वागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने पक्कि पुल अलपत्र परेको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ र मकवानपुर जिल्लाको वागमती गाउँपालिका वडा नम्बर ९ सिक्रेदोभानमा निर्माणाधिन बागमती पुल अलपत्र परेको हो । पुल नहुँदा ओहोरदोहोर गर्न नै समस्या भएको स्थानीयले गुनासो गरेपछि वागमती प्रदेश सांसद एवं पुर्वमन्त्री चन्द्र लामाले स्थलगत अनुगमन गर्नुभएको छ । काभ्रेको डाँडापारि क्षेत्र, ललितपुरको दक्षिणी भेग र मकवानपुर जिल्लावासीको सहजताका लागि यो पुल अत्यन्त महत्वपुर्ण मानिएको छ । सरोकारवालासहितको अनुगमनमा तत्काल काम सुरु गर्ने प्रतिवद्धता व्यक्त भएको सांसद लामाले जानकारी दिनुभयो । पक्कि पुल निर्माणले विशेषगरी खानीखोला गाउँपालिकाको मुहार फेरीने उहाँको विश्वास छ । उत्पादित उपजको विक्रिवितरण र सहजपुर्ण यात्राका लागि पुल निर्माणमा चासो दिएको सांसद लामा बताउनुभयो । उहाँले उक्त पुललाई प्राथमिकतामा राखेर कामलाई गति दिन समेत आग्रह गर्नुभएको छ । खानीखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा तिमल्सिना, वागमती गाउँपालिकाका अध्यक्षका प्रत्यासी एवं एमाले नेता राजकुमार सापकोटा, संविधानसभा सदस्य दिल बहादुर घिसिङ, पुर्वाधार विकास आयोजनाका प्रमुख इन्जिनियर सहदेव भण्डारी, इन्जिनियर हरि ओझा लगायतले आयोजनाको निरिक्षण गर्नुभएको थियो ।
उक्त पुल निर्माणका लागि तत्कालिन मकवानपुर जिल्ला विकास समितिले ठेक्का लगाएको थियो । राज्यको पुर्नसंरचनासँगै यो आयोजना अहिले पुर्वाधार विकास कार्यालय चितवनले हेरिरहेको छ । २०७४ असार ३० गते १३ करोड १७ लाख २२ हजार ४ सय ७१ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी महाविर÷ शिखर÷ तामाकोशी जेभी ले निर्माणको जिम्मा पाएको थियो । जसअनुसार २०७६ भदौं ३० गते पुल निर्माण भइसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिएको २ वर्ष वितिसक्दा समेत १२.३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । समयमा काम नसकिएपछि फेरी २०७७ फागुन १४ गते निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्काको म्याद थप भएको इन्जिनियर विष्णु काफ्लेले जानकारी दिनुभयो । थपिएको समयमा समेत निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन । उक्त पुल निमाएणको म्याद पुनः थप गर्नका लागि फाइल भौतिक पुर्वाधार विकास मन्त्रालय वागमती प्रदेश अन्तर्गत यातायात पुर्वाधार निर्देशनालयमा पुगेको छ । निर्देशनालयले कुनै निर्णय नगरेका कारण अब आयोजना कसरी अघि बढ्छ भन्ने अन्योल देखिएको छ । अन्योलकाबिच पनि निर्माण कम्पनीले भने सुस्त गतिमा काम गरिरहेको छ । उसले कामलाई चासोका साथ अघि बढाएको छैन भने काम छोडेको पनि छैन । निर्माण कम्पनीले अहिले पुलको डिजाइन परिवर्तनका लागि लविङ गरिरहेको वुझिएको छ ।
अत्यन्तै तिव्र गतिमा काम गरेपनि पुल निर्माण सम्पन्न गर्न करिव १ वर्ष लाग्ने इन्जिनियर काफ्लेले बताउनुभयो । यो पुलको लम्बाई १ सय १५ मिटर हुनेछ । सम्भवतः यो नै वागमती प्रदेशको सबैभन्दा लामो पुल हो । काभ्रेको दक्षिणी भेग, ललितपुर र मकवानपुर जिल्लावासीको सहजताका लागि यो पुल अत्यन्त महत्वपुर्ण मानिएको छ । पुल नहुँदा खानीखोला गाउँपालिकाका स्थानीयलाई प्रदेश राजधानी पुग्न संघिय राजधानी काठमाण्डौं हुँदै हेटौडा जानुपर्ने बाध्यता छ । यस्तै खोलाका कारण सवारी साधन वारपार गर्न नसक्दा एक दिनमा हुने कामका लागि दुइदिन खर्चनुपरेको छ । सार्वजनिक सवारीसाधनको समय नमिल्दा खानीखोला गाउँपालिकाका स्थानीय भोर्लेनिमा बास बस्नुपर्ने अवस्था छ ।