काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेले अपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा बनेपाका नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरेको छ ।
अपराधिक क्रियाकलाप नगर क्षेत्रमा प्रमुख समस्या बन्दै गएकाले यसको रोकथामका लागि बनेपाका स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बनेपाबिच आज (शुक्रबार) छलफल भएको हो ।
कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा अपराधिक क्रियाकलाप रोकथामका लागि नगर क्षेत्रमा सिसिटिभिी क्यामेरा जडान गरी निगरानी गरिने विषयमा छलफल भएको थियो ।
छलफलको क्रममा नगर क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेराको मर्मत सम्भार गरिनुको साथै आवश्यक स्थानमा थप सिसिटिभि क्यामेरा जडान गरिने विषयलाई उठान गरिएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा दाहाल, बनेपा नगरपालिकाका १४ वटाका वडा अध्यक्ष तथा वडाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।