काभ्रे । आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिदै गर्दा गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवारहरु घरदैलोमै व्यस्त भएको देखिन्छ ।
काभ्रेमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगका अनुसार आगामी कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’मा कांग्रेसका कञ्चनचन्द्र वादे पनि घरदैलोमै व्यस्त छन् ।
यसैगरी, हुमागाईसँग भने नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रतिस्पर्धा रहेको छ । यस प्रतिनिधिसभा क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा पनि हाल घरदैलोमै व्यस्त छन् ।
यता, प्रदेश सभा २ क का उम्मेदवार ताराबहादुर कुँबर पनि तिव्र रुपमा लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । उनी पनि केही दिनदेखि नै घरदैलोमै व्यस्त छन् । सामान्य परिवारमा जन्मिएर अर्बौ रुपियाँको मालिक बनेका समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर क्षेत्री भष्ट्राचार विरोधी अभियान्ता हुन् । चक्रपथ सरसफाइ अभियानको संयोजक भएर पनि उनले लामो समय देखिनै काम गरिरहेका छन् ।
कसैको विरोध नगरी सामाजिक सञ्जालमा कडा रुपमा उत्रिएका उनले आफ्नो विचार प्रष्टसँग राख्दै आएका छन् । आफ्नो एजेन्डालाई जनतासामु प्रष्ट्रसँग राखेका उनले समक्ष नेतृत्व र भष्ट्राचारको विरोधीको रुपमा आफूलाई उभ्याएका छन् । उनको सकृयता हेर्दा निर्वाचन परिणाम जे पनि हुन सक्ने कतिपयको आंकलन छ । आफ्नो निर्वाचन क्षेत्रलाई कृषि, पर्यटन, स्थानीय उत्पदन लगायत धेरै क्षेत्रबाट त्यस क्षेत्रका जनताको आर्थिक तथा समाजिक जीवनस्तर उकास्ने आफुसँग कयौँ योजना रहेको उनको भनाई छ ।
जन्मभुमी र मातृभूमिको ऋण तिर्न बाँकी रहेको बताउँदै कुँवरले जनताको आर्थिक उन्नतिलाई पहिलो प्राथमिकतामा राखी आफ्नो क्षेत्र तथा जिल्लाको विकाशको स्पष्ट खाका सहित जनताको सेवा गर्न आएको बताएका छन् । आफुले अहिले जनताको घर दैलोमा आएर आफ्नो लागि नभएर मुलुकको विकाशको लागि सहयोग मागेको बताउछन् ।
उनले भने , मलाई आर्थिक र भौतिक सहयोग चाहिएको छैन । तपाईहरुको माया, सदभाव र सदासहायता भए पुग्छ । ३३ कोटी देवता र मेरा स्वर्गबासी माता पितालाई साक्षी राखी क़सम खादैछु, ग़लत कार्य गर्ने छैन, देशलाई हानी हुने काम गर्ने छैन । मत दिएर जिताउनु भएमा सास रहुन्जेल जनसेवा मै जिवन बिताउने छु । देश विकाशको विज्ञहरु, कृषिविज्ञ, पर्यटनविद, अर्थशास्त्री, डाक्टर, इंजीनिएर, कानुनविद, भाषा तथा संस्कृतिविद, शिक्षाविद, व्यवस्थापनका विज्ञहरुले आफुलाई समग्र देश विकाशको लागि स्पष्ट खाका तयार गर्न साथ दिएको उनी बताउँछन् ।
आफुले यस निर्वाचनमा जित हासिल गरेमा आफ्नो प्रदेशको आर्थिक, सामाजिक र भौतिक विकाशमा आमुल परिवर्तन गरी देश कै नमुना प्रदेश बनाउने उनको प्रतिबद्दता छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार सूर्यमान दोङ केही समय स्वास्थ्योपचारपछि केही दिनदेखि स्थानीयवासीसँग भेटघाटमा व्यस्त छन् । यस क्षेत्रअन्तर्गतको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन् । उनीहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन्।
काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी छ ।
जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।