नेकपा एमालेका सांसद् एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दुनियाँभर मादल वज्दा पनि वर्तमान सरकार ब्युँझिएन’ भन्दै कटाक्ष गरेका छन् ।
आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा वोल्दै उनले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरे। उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे ।
‘सार्क राष्ट्रको अध्यक्ष, यस देशको प्रधानमन्त्री, कम्फर्टेबल सरकार । जनकवी केसरीले भने जस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन’–उनले भने ।
त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न वास्कोटाले माग गरे । उनले घटनाको विषयमा संसद्मा जानकारी गराउन पनि माग गरे । उनले अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति भन्दै प्रश्न पनि गरे । ‘सरकार कहाँ छ जनता जान्न चाहन्छन् । हामी जान्न चाहन्छौं’– उनले भने ।
यसैविच, सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे यथार्थ जानकारी दिनका लागि सरकारलाई रुलिङ गरेका छन् ।
‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपलीहरूको अवस्थाका बारेमा मेरो र सभाको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबारेमा सभाको आगामी बैठकमा जानकारी दिन नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने ।