दिलिप शर्मा /अध्यक्ष / जिल्ला सहकारी संघ काभ्रेपलान्चोक
प्रजातन्त्र प्राप्ति पश्चात वाक स्वतन्त्रता भयो । राजनैतिक सचेतनाका कारण पनि मानिहरु खुलेर आफ्ना धारणा राख्न सक्ने भए । देश विदेश धेरै बुझ्न थाले बोल्ने फोरमहरु धेरै बढ्न थाले यसलाई उपलब्धिकै रुपमा लिन सकिन्छ । २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात नेपालमा सहकारी संस्थाहरु धेरै संख्यामा दर्ता भएका तथ्यांकहरु देख्न सक्छौं । सानो देश ३४ हजार भन्दा बढी सहकारी संस्था ७ जनाको मात्र सञ्चालक सदस्यहरु हुने हो भने पनि झण्डै २ लाख ५० हजार भन्दा बढीले सहकारीको संस्थाहरुको नेतृत्व गरे, सञ्चालनमा रहे । नेतृत्व गरिरहँदा पनि सहकारी के हो ? कसरी सञ्चालन हुनुपर्ने हो ? कस्तो क्षमता भएकाले नेतृत्व गर्नसक्छ ? सहकारीका मूल्य, मान्यता, दर्शन अनि सिद्धान्तहरु के हुन ? भन्ने सम्मका बिषयहरु ओझेलमा परे ।
२०४६ साल देखि आजसम्म यो ३४ बर्षको अवधिमा आइपुग्दा अहिले सहकारी संस्थाहरुलाई चौतर्फी आक्रमण भइरहेको आभाष हुन्छ । राज्यले सहकारीको जन्म गरिदियो । लालन पालनका बिषयमा मौन रह्यो । गोडमेल जति गर्नुपर्ने थियो त्यो त गर्नै सकेन । केन्द्रिय तह, राष्ट्रियस्तरमा उठेका नेतृत्वहरुले यसको लगाम लगाउन पहल नै नगरेको जस्तो देखिन थाल्यो । तल्लो तहमा सहकारीका आधारभूत कुराहरुका बारेमा जति बुझ्नु पर्ने थियो त्यो नबुझेको जस्तो अहिले आएर भान भइ रहेको छ । आम शेयर सदस्यहरुका पिर मर्का, कथा ब्यथा, दिनचर्याहरुका बारेमा केन्द्रमा नेतृत्व गर्नेहरुले कहिल्यै बुझ्न सकेका छन जस्तो लाग्दैन । विगत देखि हालसम्म रहेका नेतृत्वहरु भनेको सहकारीका पे्ररणाका श्रोत हुन, उदाहरण हुन, ज्ञानका भण्डार हुन, ब्याख्याता अनि गुणका खानी हुन भनेर हामी तल्लो तहमा बसेर सहकारी अभियानमा लागि रहने मानिसहरुले कहिले महसुश गर्न पाउँछौ ? कसले सहकारीको अबको बाटो यो र यस्तो हुन्छ भनेर सिकाईदिने ? हामी पर्खाइमा नै छौं ।
अचेल सहकारी क्षेत्रका बारेमा बजार भरी नकारात्मक टिक्का टिप्पणीहरु आइरहँदा समस्या भइरहँदा यसको निराकरण उपायहरु यो र यस्ता हुन सक्छन् भनेर कसले भन्ने होला भनेर आम सहकारी प्रति आस्था राख्ने शेयर सदस्य तथा ब्यक्तिहरुले उत्तर खाजीरहेका छन् । यसमा हामी अनुत्तरित भएर बस्नुको पिडा हामीमा छुट्टै छ । जिल्ला त्यो पनि प्रारम्भिक सहकारी संस्थामा गएर सिकाउने को ? जिल्ला, प्रदेश, स्थानीय तह, केन्द्रियस्तर तथा राष्ट्रियस्तरमा रहेका नेतृत्वहरुको बारेमा के कुरा गर्नु सबै जना कुशल, राम्रा, म जति जान्ने सहकारीका क्षेत्रमा अरु कोहि छैनन सबै मैले ने गरेको भन्न पछि पर्दैनन । कसैले कसैको अस्तीत्व कसैले स्विकार नै गर्दैनन । मञ्च पाएपछि मिलोस नमिलोस भाषण दिइ हाल्ने बानी उत्तिकै छ । मञ्चमा बसेर बोलिरहँदा १० जनाको भाषण सुन्ने हो भने लगभग नयाँपनको कुनै अपेक्षा नगरे हुन्छ सबैले बोलेका उस्तै लाग्दछ । संसार नै मैले धानेको छु जस्तो गरेर भाषण हुन्छ ।
अहिले देखा परेको समस्या समाधानका लागि आवश्यक पर्ने बिषयमा कोहि कसैले केहि पनि बोल्दैन । चिया पसल, चोकहरुमा कसैले सहकारीका क्षेत्रमा कुरा गर्यो भने सकारात्मक रुपमा तर्क सहितका कुरा गरेको सुन्नै पाइदैन । किन होला यो अभियान यस्तो भएको ? के अब यो अवस्था आइरहँदा सबैले आ आफ्नो दायित्व बारेमा जिम्मेवार बन्नु पर्दैन ? कसैको भूमिका नै छैन ? यस्ता समस्याहरु समाधान साँच्चै गर्ने नै हो भनेपनि अब जिल्ला जिल्लामा जिल्लस्तरमा भएका अभियानका महानुभावहरु एकै स्थानमा बसेर बहस, पैरवी सहित क्रिया, अन्तरक्रियाहरु नचलाए सुखै छैन । जिल्लाबाट केन्द्रसम्म पहुँच राखेका अभियानका ब्यक्तिहरु आ आफ्नै जिल्लामा बसेर शेयर सदस्यहरुलाई हामी छौं यो समस्या हामी समाधान गर्छौं भनेर कहिले भन्ने ? बसौं छलफल गरौं भन्यो फुर्सद नै छैन समय निकाल्न साह्ै गाहे भएको अनुभूति हुन्छ । बरु चिया पसलमा गएर घण्टौं गफियर बस्न सबैलाई आतुर हुन्छ । मञ्च पाउने अनि भाषण गर्नका लागि हो भने वहाँहरु लालाहित बनेर अनेकौं कोशिसहरु गर्न समय व्यवस्थापन गर्नुहुन्छ । यसरी सहकारी अभियानको कसरी हुन्छ सुद्दिकरण ? नेतृत्वले अब पनि नसच्चिने हो भने सच्चिने चाँही कहिले हो ? केन्द्रीय तहमा नेतृत्व गर्ने जो कोहिलाई पनि अब आफ्नो जिल्लामा देखा परेका समस्याहरु समाधान गरेर मात्र केन्द्रमा आउनुस भनेर निर्देशन जारी गर्ने कसले ? कोहि बोल्नु हुदैन यस बारेमा ? सामूहिक पहलबाट मात्र सहकारीका समस्याहरु समाधान गर्न सकिन्छ अहिले नै केहि बिग्रि सकेको छैन । समय छ आउनुहोस एकै थलोमा बसौं समस्या समाधानका लागि लागौं, छलफल गर्दा निकास निस्कन्छ, जुटौं फुटेर केहि गर्न सकिन्न सहकारी अभियानलाई वास्तविक सहकारी जस्तै बनाउन नेतृत्वकर्ताहरु एक हुन जरुरी भै सकेको छ । सहकारी राम्रा भएर हाल देखिएका समस्याहरु समाधान गर्न सके भाषण पछि गरौंला, अनि सहकारी अभियानलाई आवश्यक परेका बेलामा पुन जुटौंला त्यसैले नेतृत्वले पहिला सोच्नै पर्छ पहिला काम गरौं कुरा पछि गरौला ।
जय सहकारी