असार – श्रावण महिना धेरै सहकारी संस्थालाई चटारो छ । किसानहरुको असारको १५ जस्तै, २०८०÷०८१ नयाँ आर्थिक बर्षले नयाँ उमंगका साथ कार्यको थालनी गर्ने दिन, बिगतका बर्षहरु भन्दा यस बर्ष सहकारी क्षेत्रमा खासै खुसी र त्यती उत्साहजनक रहेन । सोचेको र योजना बनाएको अनुरुप प्रगती हुन सकेन भन्ने अभियानकर्मीहरुको बुझाई तथा अनुभव रह्यो ।
यस बर्षले पक्कै पनि अभियानलाई केहि पाठ भने सिकाएर गएको छ । यस आर्थिक बर्षमा सहकारी क्षेत्रमा विभिन्न खालका उतार चढावहरु देखिए । सहकारीबाट ऋण लगेर ऋणको साँवा र ब्याजहरु नियमित हुन नसक्दा सोचेको जस्तो प्रतिफल हुने कुरै भएन । धेरै समस्याहरु चाहि सञ्चालक समिति र संस्था भित्र आबद्ध नेतृत्व पंक्तिले पैसा चलाएका कारण पनि संस्थाले भनेको बेलामा बचतकर्ताहरुको पैसा फिर्ता दिन सकेनन् । पैसा फिर्ता हुन नसकेपछि विभिन्न खालका टिक्का टिप्पणीहरु बजार भरी फैलिए ।
ऋणीहरुले पैसा तिर्नका लागि आनाकानी समेत गरे । ऋण लगेर नियमित गर्नुपर्छ भन्ने सोचलाई सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई बुझाउन सकेनन् कि भन्ने कुरा पनि आफ्नो ठाउँमा छ । बजारभरी ऋणीहरुले पैसा तिर्न पर्दैन भन्नेहरुले बजार कब्जा गरे । आफ्नो आवश्यकता भन्दा बढी, क्षमता भन्दा बढी ऋण लगेर विभिन्न ठाउँहरुमा लगानी गरिरहँदा आर्थिक मन्दिका कारण बजार चलायमान हुन नसक्दा समस्याहरु पनि देखिएकै हो । ब्यापार छैन, आम्दानीका श्रोतहरु खुम्चिएकै छन्, हिजो लगानी गर्दा आँखा चिम्लिएर गरेको लगानीका कारण समस्याहरु देखिएकै हुन । बढी भन्दा बढी समस्याहरु चाँही घर जग्गामा लगानी भएका कारण उक्त क्षेत्रमा समस्या देखिदा सिंगो सहकारी क्षेत्र समस्यामा परेको पनि देखियो ।
सहकारी संस्थाहरुले ऋणी सदस्यहरुसँग सम्पर्क समन्वय गरिरहँदा अनुदानमा उपलब्ध गराएको रकम जस्तो शैलीमा संस्थाको ऋण तथा पाकेको ब्याजहरु तिर्न नै पर्दैन जस्तो नियतहरु देखिएका छन् । अर्कोतिर संस्थामा आफुले जम्मा गरेको बचत फिर्ताको चाप संस्थामा रहेका सञ्चालक समितिले खेप्न परिरहेको छ । एक जना मानिसले बचत गर्छ लगभग ६ महिना बित्दा नबित्दै उसलाई ऋण चाहिन्छ । महिनामा ३०० मात्र बचत जम्मा गर्दा पनि ६ महिनामा एक जनाको १८०० मात्र हुन्छ उसलाई विना धितो वा धितोमा लाखौं रुपैंयाँ ऋण चाहिन्छ । सहकारी संस्थाले सदस्यहरुको आर्थिक पक्षहरुलाई मध्यनजर गर्दै विभिन्न उपल्लो संघहरुसँगको सहकार्यमा ऋणीलाई ऋण उपलब्ध गराँउछ । उपलब्ध गराएको ऋण किस्ता बन्दिमा तिर्नु सदस्यहरुको दायित्व हो तर पैसा पाएपछि ऋणी संस्थाको सम्पर्कमा आउँदैन ।
फोन उठाउँदैन, भेटघाट नै गर्दैन, बाटोमा कतै भेटियो भने यत्रतत्र तर्किएर हिड्छ, न त उसले संस्थामा नियमित गर्ने बचतलाई निरन्तरता दिन्छ, न त अन्य खालका सहयोग नै गर्छ, मानौ अब उसलाई त्यो संस्था चाहिँदैन । यसरी कसरी हुन्छ संस्थाको आर्थिक अवस्था राम्रो अनि उच्च स्तरको ? ऋण नतिरे संस्था घरमा पुग्छ परिवारसँग भेटघाट गर्छ ऋण तिर्न अनुरोध गर्छ तर आफ्ना कुरा मात्र गर्छ । संस्थाको अप्ठ्यारो कसले बुझिदिने ? आर्थिक बर्ष नजिकिदै गर्दा बर्षभरीको कारोबारलाई राम्रो बनाउन सहकारीमा कम्ति गाहे छ ? यो कसले बुझ्ने ? संस्थालाई त्यही ऋणीले हप्काउन पछि पर्दैन, बिष खानेसम्मको धम्कि दिन्छ, झुण्डिएर मर्छु भन्छ, तिर्दिन के गर्छस गर भन्छ । अब यो अवस्थामा संस्थाले गर्ने के ? बार्षिक साधारणसभा मार्फत ४ बर्षका लागि निर्बाचित भएर आएका सञ्चालक समितिका मान्छेहरुको टाउकोमा हात हुन्छ । राम्रा भनिएका सदस्यहरुले पनि त सहयोग गरे हुने नी तर म संस्था राम्रो बनाउन पहल गर्छु नउठेको ऋण म उठाउन पहल गर्छु भनेर आजसम्म कसैले(शेयर सदस्यहरुले) भनेको सुनेको छैन मैले । कम्तिमा सकेको पैसा यति हो अरु विस्तारै तिर्छु भनेपनि हुने नी तर यस्ता कुराहरु गर्न कोहि तयार नै हुदैनन् ।
बार्षिक साधारणसभा मार्फत संस्थाले बनाएको नीति अनुरुप संस्थाले ऋण उठाउन पहल गर्छ प्रकृयामा जान्छ तर कोहि पनि उक्त प्रकृया सहि हो भन्न समेत सक्दैन । अब सहकारीको बार्षिक आम्दानी र खर्च कसरी राम्रो हुन्छ ? यहि बेलामा बचत फिर्ताका लागि शेयर सदस्यहरुको संस्थामा उपस्थितीको लाइन छन्, पैसा उठ्दैन संस्थाले जम्मा गरेको वा भएका पैसा ऋणी शेयर सदस्यहरुसँग छ । अनि संस्थामा कसरी पैसा जम्मा हुनु र बचत फिर्ता हुनु ? समय समयमा ऋण लाने, समय समयमा लगेको ऋणलाई सहि सदुपयोग गर्ने, आय आर्जन, जीविकोपार्जनका गतिविधिहरु सञ्चालन गर्ने, आम्दानीमा बृद्धि गर्ने कार्य गर्दा समयमा ऋण, ब्याज तिर्न सजिलो हुने थियो यो तर्फ कहिल्यै पनि ध्यान दिन शेयर सदस्यहरुले सकेनन् ।
संस्थाले पनि समय समयमा ऋण लगानीको अनुगमन गर्ने उद्देश्य अनुरुप भयो भएन भन्ने हेर्ने काम पनि भएन त्यसैले अहिले यो समस्याबाट संस्था थिल्थिलो भएको छ । समुदायस्तरमा चलेका सहकारी संस्थाहरु जिनतिन धानिएका छन् शेयर सदस्यहरुको विस्वासका कारण राम्रै देखिन्छन, तर अनुत्पादक क्षेत्रमा लगानी भई सञ्चालक तथा परिवार बादमा अल्झिएका सहकारी संस्थाहरुको हकमा समस्या नहुने कुरै भएन अब राम्रै सच्चिने बेला भएको छ । नीति विधि सहित पारदर्शी रुपमा संस्था सञ्चालन गर्नुपर्ने कुरालाई पनि वेवास्ता गर्यौं भने कहिले हुन्छ सहकारीको विकास, विस्तार ? कसरी हुन्छ वासलात राम्रो ? संस्था राम्रो हुनका लागि सबै पक्षहरुको आत्मसात हुन जरुरी छ । सहकार्य, सहमती सहित एक अर्का प्रतिको विस्वास वलियो बनाउने हो भने सहकारी क्षेत्र राम्रो हुन जान्छ ढिला भैसकेको छैन लागौं, मिलेर समस्याको समाधान गरौं अनि मात्र हुन्छ सहकारीको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षको प्रगती अनि सोचे जति उपलब्धि ।
जय सहकारी ।