काभ्रेको शिक्षा क्षेत्रमा एक सुपरिचित नाम हो रामचन्द्र भट्टराई (आर्सी) । विगत लामो समय देखी शिक्षण पेशा लाग्नु भएको भट्टराई हजारौं विद्यार्थीको मार्ग दर्शक हुनु भएको छ । उहाँ हाल शिक्षक हित साकोस बनेपाको सचिव पनि हुनुहुन्छ । शिक्षक अनि सहकारीमा भन्ने विषय पनि आउने गर्दछ । शिक्षकहरुको हितको लागि नै स्थापित संस्था भएको कारण यो सामान्य विषय रहेको उहाँको भनाइ छ । पाँचथर जिल्लाको च्याङथापुमा जन्मनुभएको भट्टराई अहिले बसोबास बनेपा नगरपालिका वडा नं. १० पुलबजार (सेतोपाटी हाइट) मा रहेको छ ।

उहाँले सहकारी अभियानमा संलग्न भएको करीव २०/२१ वर्ष भएको बताउनु भयो । लामो समय सहकारी क्षेत्रको अनुभवले गर्दा पनि होला उहाँ अहिले शिक्षक हित साकोसको सचिव भएर काम गरिरहनु भएको छ । सहकारीमा सदस्यता लिएर अभियानमा लाग्नुभन्दा अगाडि देखि नै शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो ।एसएलसी उत्तीर्ण गरेको स्कूल श्री विष्णु मा.वि. च्याङ्थापु पाँचथरमा नै कक्षा ५ सम्म पढाउने काम गर्नु भएको थियो । शिक्षण सेवामा खर्चेको समय तीन दशक भन्दा बढी भैसकेको छ । तर पछिल्लो समय शिक्षणको सँगसँगै सहकारी तिर पनि व्यस्त हुनुहुन्छ । पछिल्लो समयमा सहकारीमा हेर्ने हो भने समस्य नै समस्यले ग्रसित देखिन्छ । यो अवस्थामा शिक्षक हित साकोसको अवस्था कस्तो छ ? कसरी संचालन भैरहेको छ ? के कारणले सहकारी समस्य आएको हो ? यो अवस्थामा शिक्षक हित साकोसले आफ्ना बचत कर्ता लाई कस्तो सेवा सुविधा दिइरहेको छ भन्ने विषयमा रहेर शिक्षक हित साकोसको सचीव रामचन्द्र भट्टराई (आर्सी) सँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गर्नु भएको समसामयिक कुराकानी :


० सर्वप्रथम शिक्षक हित साकोसका बारेमा भन्नु पर्दा ?
शिक्षक हित साकोस वि.सं. २०६९ सालमा काभ्रेपलाञ्चोक जिल्लाभर सेवाक्षेत्र बनाएर, डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको संस्था हो । वि.सं.२०६५ सालतिर सँगसँगै काभ्रे जिल्लामा श्री शिक्षक र काभ्रेली शिक्षक गरी शिक्षकका पेशागत दुईवटा सहकारी दर्ता भएका थिए । यस सन्दर्भमा दुबै सहकारी गतिशील हुँदा हुँदै पनि, शिक्षकको पेशागत दुईवटा सहकारी सञ्चालन गर्नु सान्दर्भिक नभएकाले २०६९ देखि दुबै सहकारी संस्था मर्ज गरी शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड विधिवत स्थापना भएको हो । यस संस्थामा हाल ६३१ जना शेयर सदस्य, ४ करोड भन्दा माथिको कारोबार, ७० लाख भन्दा बढी शेयर पूँजीसहित बनेपा न.पा.–८, तीनदाबोटोमा (शिक्षक भवनको पहिलो तल्ला) मा कार्यालय राखी निरन्तर सञ्चालनमा रहेको छ ।

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् ?
सहकारी संस्थाहरु जुन उद्देश्य, लक्ष्य र कार्यक्षेत्र राखी स्पष्ट विनियमअनुसार स्थापना भएका हुन्छन् । त्यसअनुसार चल्न नसक्नु नै मुख्य समस्याको कारण हो । त्यस्तै गरी कतिपय सहकारी संस्थामा सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरु नाता सम्बन्धका मानिस मात्र छन् । यो पनि एउटा आर्थिक कारोबार गर्ने ठाउँमा समस्या नै हो । यस्तै गरी समस्या बाहिर आउन थालेपछि मिटरमा ब्याज असुल्न थाल्नु, कागजात पुरा र जमानी स्पष्ट नहुनु, कार्यक्षेत्रभन्दा बाहिर गएर सदस्य बनाउने लगायतका कारोबार गर्नु, कोपोमिस प्रणाली कार्यान्वयनमा नजानु तथा नियमनकारी निकायले अनुगमनमा वेवास्ता गरेका कारण सहकारीमा समस्या आएको हो । अतः विस्तारै यस्ता समस्या पनि सबैको चिन्ता र चासो बढ्दै गएपछि समाधान होला ।

० तपाई त सहकारीको सचिव हुनुहुन्छ । आफ्ना शेयर सदस्यहरुलाई के कस्ता सुविधा दिनु भएको छ, यस परिस्थितिमा ?
शिक्षक हित बचत तथा सहकारी संस्था शिक्षकहरूको हितलाई मध्यनजर गरी स्थापना भएको पवित्र संस्था हो । यसमा काभ्रे जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुले सदस्यता प्राप्त गर्न सक्छन् । हरेक शेयर सदस्यले बढीमा २० हजार सम्मको शेयर खरिद गर्न सक्छन्। २० हजारसम्मको आर्थिक सहयोग शेयर सदस्यहरुलाई तत्काल विना झन्झट उपलब्ध गराउने व्यवस्था छ । जसको निर्णय गर्ने अधिकार व्यवस्थापकलाई छ । जमानीमा २ लाखसम्मको ऋण निबेदन परेको तीनदिनभित्र उपलब्ध गराउने व्यवस्था छ । जुन ऋण समितिले निर्णय गर्न सक्छ । यसभन्दा माथि ५ लाखसम्मको ऋण धितोमा विश्वस्त भए सचिवालयले १० दिनभित्रमा प्रदान गर्न सक्छ र बढीमा १० लाखसम्म ऋण धितोमा सञ्चालक समितिको बैठकले अनुमोदन गरी १५ दिनभित्र ऋण प्रवाह गर्ने व्यवस्था छ । सहकारीले हालसम्म १०% भन्दा कम नहुने गरी शेयर बापतको बोनस प्रदान गर्दै आएको छ ।

० भर्खरै बनेपा नगरपालिकाले एक सूचना जारी गरी ऋणीलाई ऋण तिर्नुहोस्, नत्र कार्वाही गर्छौं भनेको छ ?
संबैधानिक व्यवस्थाअनुसार नै पालिकालाई कार्यक्षेत्र बनाएर दर्ता भएका सहकारी संस्थाको अनुगमन तथा नियमन गर्ने अधिकार सोही पालिकालाई छ । यस सम्बन्धी स्पष्ट व्यवस्था सहकारी ऐन २०७४ र नियमावली २०७५ ले पनि गरेको छ । अतः बनेपा नगरपालिकाको पनि यस प्रकारको सूचना, विज्ञप्ति निकाल्न सक्छ नै । तैपनि यो सूचना सन्तुलित छ । यसले ऋणीलाई ऋण तिर्न मात्र होइन, सहकारीका सञचालकलाई बचतकर्ताको बचतप्रति जिम्मेवार बन्न पनि त्यतिनै सचेत बन्न आग्रह गरको छ । यो त खास नगरपालिकाको दायित्व नै हो । तर सहकारी संस्थाहरुले ऋण उठाउन आफ्ना सदस्यहरुसँगै आफै बढी प्रयास गर्नुपर्दछ ।

० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिवास लगाउँछन् भन्ने आरोप लाग्ने गर्दछ । यसमा तपाईको राय के छ ?
खासमा भन्ने हो भने ऋण लिनु राम्रो नराम्रो दुबै हो । यसमा सही व्यवस्थापन र प्रयोग गर्न सकियो भने आर्थिक उन्नती पनि हुन्छ र ऋणको सही सदुपयोग भएन भने टाट पल्टिन्छ । यसैलाई हामीले विभिन्न कोणबाट हेर्नु पर्दछ । ऋण प्रवाह गर्ने समयमा ऋणीको ऋण तिर्न सक्ने क्षमताको पनि विश्लेषण गर्नुपर्दछ । खासमा सहकारीले आफ्ना सदस्यको अहित चिताएको हुँदैन । समग्र आर्थिक प्रणालीका कारण परेको असरको आरोप सहकारीले खेप्नु परिरहेको छ ।

० सहकारीले बचतकर्ताहरूको पैसा कुम्ल्याएर भागिरहेका छन् ? के यसमा सहकारीकर्मीको कुनै दायित्व हुँदैन ?
कतिपय सहकारीहरुमा समस्या नभएको होइन । समस्याग्रस्त सहकारी पनि छन् । केही सहकारीका सञ्चालकहरुको नियत नै खराब राखेर पनि सदस्यको शेयर र बचतमाथि खेलिरहेका छन् । यसले बचतकर्तालाई तनाव नहुने भन्ने कुरै भएन । यसलाई रोक्न सहकारीका सहकारीकर्मी तथा अभियन्ताको ठूलो भूमिका रहन्छ । निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्दछ । यसका साथै वचतकर्ता स्वयम् पनि जागरुक हुनुपर्दछ। आफू सदस्य रहेको सहकारीको अवस्था के छ ? सञ्चालकले कसरी आर्थिक हैसियत बनाइरहेका छन् । खर्च प्रणाली कसरी व्यवस्थित गरिएको छ भन्ने कुरामा जानकारी राख्नुपर्दछ ।

० दोहोरो सदस्यता अन्त्यका विषयमा यहाँको राय के छ ?
बचत तथा ऋण सहकारी, बहुउद्देशीय सहकारी तथा अन्य कृषि तथा दुग्ध सहकारी सञ्चालन तथा कारोबारकाका विषयमा स्पष्ट व्यवस्था रहेको छ । सहकारीले सीमाभन्दा बाहिर गएर बैंक तथा वित्तीय संस्थाले गर्ने प्रकृतिका बैंकिङ्ग कारोबारमा भन्दा सीमित आर्थिक गतिविधिलाई व्यवस्थित गर्नु आवश्यक छ । जहासम्म दोहोरो सदस्यताको कुरा छ, यसलाई रोक्नु आवश्यक छ । यसका लागि सहकाही विभागले सञ्चालनमा ल्याएको कोपोमिस प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्दछ । एउटा सहकारीमा कारोबार गर्ने र ऋण नतिरी अर्को सहकारीबाट सदस्यता फेरी लिने प्रवृत्तिको अन्त्य आवश्यक छ ।

० सहकारीमा युवा पुस्ताको रुची कसरी बढाउन सकिन्छ ?
वास्तवमा साना तिना समस्या समाधानका निम्ति सहकारी विश्वब्यापी रुपमा नै स्वीकृत प्रणाली हो । यसको सञ्चालनको आफ्नै नीतिगत व्यवस्था पनि छ । तैपनि सहकारीलाई आफै कार्यविधि बनाउने छुट, व्यवस्था पनि छ । जसले गर्दा विनियम फरक नपर्ने गरी कार्यविधि बनाएर युवा लक्षित कार्ययोजना बनाउन आवश्यक छ । कतिपय युवाहरु बेरोजगार भएर बसेका छन् र कतिपय युवाहरु विदेशतिर पलायन हुनुपर्ने अवस्था छन् । यस सन्दर्भमा सहकारीमा डिजिटल कार्यक्रम लागू गर्ने, कोडमार्फत कारोबार गर्ने, मोबाइल बैंकिङ्ग तथा अन्य इन्टरनेट कारोबारमार्फत कार्य विस्तार गर्न सके युवालाई सहकारीमा आकर्षण गर्न सकिन्छ ।

० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्ला ?
सहकारी क्षेत्रमा अध्ययन अनुसन्धान नभएको होइन, तर जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । यसलाई एक प्रकारले बजारीकरण गरिएको छ । तर उत्पादनलाई व्यवस्थित गरिएको छैन । यसका लागि गम्भिर तथा शूक्ष्म अनुसन्धानको आवश्यकता पर्दछ । यसका लागि राज्यले पनि अनुसन्धान परियोजना अगाडि सार्नु पर्दछ र सहकारीका छाता संगठन तथा सहकारी स्वयम्ले पनि यस्ता काम गर्नुु आवश्यक छ भन्ने लाग्छ ।

० अहिले जति नाफा कमायो त्यो सरकारी राम्रो भनेर बुझ्ने चलन छ नी ?
वास्तवमा भन्ने हो भने नाफा कमाएको राम्रो हो नै । तर नाफा कमाएकै हो कि कागजी रुपमा नाफा देखाएको हो भन्ने कुरा थाहा पाउनु पर्दछ । घरभाडा, कर्मचारी तलब, बोनस, प्रशासनिक खर्च, कर लगायतमा हुने सारा खर्च कटाएर कसरी धेरै नाफा हुन्छ र ? आम्दानीको स्रोत, जम्मा ब्याज मात्रै हो । फेरी ब्याज बचतकर्तालाई दिनुपर्दछ । भएको पनि सिलिङ्ग हुन्छ । १५% ब्याज लिने हो भने ७ः५% बचतकर्तालाई ब्याज दिनुपर्छ । यसरी जम्मा ७, ८% मा कसरी सहकारीमा त्यत्रो नाफा हुन्छ ? वास्तवमा सही आर्थिक धरातलमा चलेका सदाबहार सहकारीहरुमा न समस्या छ न घाटा छ । तर कागजी रुपमा नाफामूलक देखाइएका र १५% भन्दा बढी बोनस दिने सहकारी प्रति सशंकित हुनुपर्दछ र बेलैमा सदस्यप्रति सचेत हुनुपर्दछ र बेलैमा सदस्ले आफ्नो शेयर र बचत सुरक्षित गर्नुपर्दछ ।

 

० भावी योजना के छन् ?
शिक्षकको हितमा मात्र काम गर्नु जिल्लाको विश्वासिलो र व्यवस्थित स्मार्ट सहकारी बनाउँन जुट्नु हाम्रो मुख्य काम हो । सहकारीका सबै दस्तावेजको अभिलेखीकरण, कोपोमिस प्रणालीमा प्रवेश तथा सदस्यता विस्तारमा जुट्ने योजनामा छौं ।

० अन्त्यमा ?
धेरै कुरा गरिसकियो । हाम्रो सहकारीका गतिविधि तथा समसामयिक सन्दर्भमा कुरा गर्ने र हाम्रो धारणा राख्ने अवसर प्राप्त भयो हुनाले यसका लागि पत्रिकालाई मनैदेखि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो सहकारीको तर्फबाट समेत धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….