काभ्रेपलान्चोक – समृद्धिको आधार नै सक्षमता भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को २९ औं स्थापना दिवस तथा १६ औं जेष्ठ सदस्य जन्मोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
सक्षम साकोसको अध्यक्ष रमेश काजी श्रेष्ठको सभापतित्वमा सहकारी विद कैलाश भक्त प्रधानाङको प्रमुख आतिथ्यतामा स्मार्ट प्यालेस बनेपामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्वास्थ्य शिविर संचालन गरि सुगर प्रेसर चेकअप समेत गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि सहकारी विद कैलाश भक्त प्रधानाङले कार्यक्रममा बोल्दै सहकारीहरुले आर्थिक कारोवार मात्र नगरी सामाजिक क्षेत्रमा परोपकारी कामहरु गरेकोमा खुशि व्यक्त गर्दै यस्ता क्रियाकलापलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । उहाँले सहकारीहरुले समाजमा विश्वास आर्जन गर्ने खालका गतिविधि सञ्चालन गर्नु पर्ने बताउनु भयो । यो आर्थिक मन्दीको बेलामा सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार सहकारीलाई अगाडि बढाउन सके, समाजमा आर्थिक सामाजिक रुपान्तरणसंगै सामाजिक न्याय स्थापित गर्न सकिने बताउनु भयो ।
उता कार्यक्रमको संस्थाको अध्यक्ष तथा कार्यक्रमको सभापति रमेश काजी श्रेष्ठले सहकारीको माध्यम बाट राम्रो काम गर्ने सहकारी मध्ये सक्षम बचत तथा ऋण सहकारी संस्था पनि रहेको बताउदै जनताको दुख सुख जनताको अप्ठ्यारोमा सजिलो गर्ने काममा सहकारीले अग्रणी भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा राम प्रसाद बजगाइ, भक्तलाल श्रेष्ठ, कदम कुमारी जोशी , बिनोद बैध लगायत जेष्ठ सदस्यको जन्मोत्सवको साथै सम्मान गरिएको सक्षम बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पार्वती थापाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
संस्थापक सदस्य जेष्ठ नागरिक संयोजक मणिराज श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन भवानी जोशीले गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका पदाधिकारीहरु, सियेर सदस्यहरु, सम्मानित व्यक्तित्वहरु र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।