काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं ३ माझीफेदामा पिता चन्द्रमणी गौतम र माता गङ्गामाइ गौतमको कान्छो सन्तानको रुपमा २०५१ सालमा जन्मिएको लक्ष्मण गौतम २०७० साल देखि सहकारी क्षेत्रमा सक्रिय रुपमा लाग्दै आइरहेको हुनुहुन्छ ।
बिद्यालय स्तर एस.एल.सी सम्मको अध्ययन गाउँ कै श्री बुद्ध हिमालय माध्यमिक विद्यालयबाट सकेर उच्च शिक्षाको लागि सहर पसेको र निरन्तर संघर्षका दिनहरुलाई पार गर्दै लिङ्कन युनिभर्सिटी कलेजबाट एम.वि.ए सम्मको अध्ययन सम्पन्न गरेको बताउनु भयो ।
श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थालाई ४ खाता ढड्डाबाट कम्प्युटर सफ्टवेर प्रणालीमा हिसाब राख्नु पर्छ भन्ने सोचलाई कुशल कार्यसम्पादन बाट सहकारी क्षेत्रमा होमिनुको साथै चौंरीदेउरालीमा २ वटा मात्र, एउटा बहुउद्धेश्यीय सहकारी जसले हरेक सदस्य र समुदायको दैनिकीसँग जोडन सकोस र अर्को संस्थाले सदस्यको आर्थिक उन्नतिको नेतृत्व गर्न सकोस भन्ने अपेक्षाले २०७२ साल चैत्र १५ गते शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सातौँ वार्षिक साधारणसभा सम्म सचिवको जिम्मेवारी निर्वाह गरि निर्णय र कार्यान्वयन प्रक्रियामा निर्णायक भूमिका निर्वाह गरेको बताउनु भयो  । अहिले श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा बाट अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आइरहनु भएको छ । समग्रमा सहकारी अभियानमा प्रत्यक्ष रुपमा जोडिदै आएको १० वर्ष भएको बताउनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्ष लक्ष्मण गौतमसँग गरेको कुराकानी :
० सर्वप्रथम श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको बारेमा भन्नू पर्दा ?
सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि कृषि उत्पादन, भण्डारण, वितरण गरि व्यवसायीक बनाउनुको साथै नियमित शिक्षा दिदै बचत तथा ऋण कारोबारलाई सहज र सरल बनाइ सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन डिभिजन सहकारी कार्यालय काभ्रेपलान्चोकमा श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि नाममा ९३४-०६३-०६४ दर्ता नं भइ  ३०४००७५०७ को पान नम्बर प्राप्त २०६४ असार १ गते विधिवत रुपमा दर्ता भइ नियामकिय निकाय जिल्ला सहकारी संघ काभ्रे, जिल्ला बहु–उद्धेश्यीय सहकारी संघ काभ्रे, राष्ट्रिय सहकारी बैंक, कृषि सामाग्री केन्द्र, साल्ट ट्रेडिङ्गमा समेत आवद्धता लिई सदस्यहरुलाई ब्यबसायिक बनाउन न्युनतम शुल्कमा गर्जो टार्नुको साथै सामाजिक कार्यहरु समेत गर्दै अघि बढिरहेको सहकारी संस्था हो ।
० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
वास्तवमा सहकारीलाई सहकारीको अर्थमा बुझिएन, सहकारी लाई  समुदायको बैंकको अर्थमा मात्र बुझियो अझै भनौ संचालक र कर्मचारीहरुले आफुलाई बैंकरको रुपमा परिभाषित गर्न थाले  सहकारीलाई सहभागितामूलक सहकार्यबाट उत्पादन र बजारीकरण मार्फत आय आर्जनमा जोड्न सकिएन  संचालकले नै सहकारी नबुझेकोले नत कर्मचारीहरुले बुझ्ने र कार्य गर्ने प्रयत्न गरे   अभियानकर्मीले नै नबुझ्दा सदस्य बाट अपेक्षा गर्ने कसरी ? सबै यस्तै छन् भन्न खोजेको हैन तर ८०% भन्दा बढीको अवस्था यहीँ नै छ जुन तितो यथार्थ हो  । यस  क्षेत्रको विकास र दिगोपनका लागि अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्नु आवश्यक छ । सहकारीहरूले कृषि, वित्त र आवास सहित विभिन्न उद्योगहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन । सदस्यको दैनिकी सँग घुलमिल हुन सक्छन र गहिरो अनुसन्धान सञ्चालनले चुनौतीहरू, उत्कृष्ट अभ्यासहरू र सुधारका अवसरहरू पहिचान गर्न मद्दत गर्न सक्छ।
सहकारी क्षेत्रमा अनुसन्धान विकासलाई अभिवृद्धि गर्नका लागि केही कदमहरू चाल्न सकिन्छ..
केस स्टडी र उत्कृष्ट अभ्यासहरू अभियान कर्मिहरुले पनि विभिन्न क्षेत्रहरूमा सफल सहकारीहरूको केस स्टडीहरू सञ्चालन र प्रवर्द्धन अध्ययन गर्ने बानीको बिकास गर्नुपर्दछ । उत्कृष्ट अभ्यासहरू र सफलताका कथाहरू प्रचार गर्नाले अन्य सहकारीहरूलाई र अनुसन्धानकर्ताहरूलाई प्रेरित गर्न मद्दत गर्दछ।
प्रोत्साहनका कार्यक्रमहरु संचालन – अनुसन्धान कर्ताहरुलाई अनुदान, विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृस्ट अनुसन्धानकर्ता पुरस्कारले विद्वानहरू र अनुसन्धानकर्ताहरूलाई सहकारी–सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्न सक्छन् । अन्यथा कि त आफै भित्रबाट जाग्न सक्नु पर्यो । सबै कहिँ कतै जोडिएका छन् व्यस्त छन् अनुसन्धानमा समय दिने कमै छन् ।
० तपाई त सहकारीको अध्यक्ष हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
हाम्रो संस्था बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था हो। विशेष गरि कार्य क्षेत्र भित्रका जनतालाई रासायनिक मलको अभाव हुन दिएका छैनौ। कृषिका बिउ बिजन सहुलिएत ब्यबस्थापन गरेका छौं। कृषिमा यान्त्रिकरणको लागि पालिका सँगको सहकार्यमा ट्याक्टर उपलब्ध गराउदै आएका छौं। सुपथ मूल्य पसल संचालन गरेका छौ तर यी सबै काममा मजबुती बनाउदै लानुपर्नेछ। कोइका र सहमति संस्थासँगको सहकार्यमा माझिफेदामा कृषि उत्पादनामा सहकार्य हुदै आएको छ। तर पनि यतिले पुगिरहेको छैन। अझै पनि बचत ऋणको कारोबार मुख्य बनिरहेको छ ।
हामीले बचत ऋणको कामबाट पनि सदस्यलाई राहत हुने कार्यक्रम संचालन गरेका छौं। स्थानीय स्तरमा संचालित विकास निर्माणको कामको लागि उपभोक्ता समितिलाई बिना संस्था विकास शुल्क सहुलिएत ऋण उपलब्ध गराउदै आएका छौं। सदस्यको छोराछोरीलाई उच्च शिक्षा अध्ययनको लागि ऋण उपलब्ध गराउदै आएका छौं। सहज ऋण सुविधाले संस्थाको वित्तीय ब्यबस्थापन मार्फत धेरै जसो सदस्यहरु यातायात व्यवसायी भइ सकेका छन् । हामी लगानी गर्न हौसिएका छैनौं। खराब ऋण असुलीमा ब्यापक ताकेता गरेका छौं। तरलता ब्यबस्थापनमा कहिल्यै समस्या नआउने गरि विशेष ध्यान दिएका छौं। सामाजिक कार्यको लागि यसवर्ष देखि हामीले सदस्य राहत कार्यक्रमहरु सुत्केरी आहार, दुर्घटना उपचार, दैवी प्रकोप क्षति, घातक रोग उपचार, प्राकृतिक तथा दुर्घटना बाट मानवीय क्षतिमा पनि सदस्यलाई मल्हम लगाउन राहातका कार्यक्रमहरु सुरुवात गरेका छौ। हरेक वर्ष २ जना जेहेन्दार तर विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराएर कार्यक्रम संचालन भएको १२ औ वर्ष देखि हरेक वर्ष २४ जना संस्थाको एम्बेसडर उत्पादन गर्ने लक्ष्य लिएका छौं। जुन कुरा १६ औं वार्षिक साधारण सभाले अनुमोदन पनि गरि सकेको छ। विशेष गरि हामी सदस्यसँग जोडिएका छौं। यो सम्बन्ध झन् बलियो बनाउदै लाने छौ।
० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
तपाइको प्रश्नलाई नकार्दिन, तर यो कुरामा सत्यता छैन। यस्तो सोच कहिँ कतै छ वा रहेछ भने त्यो सहकारी नै हैन हुनै सक्दैन । सहकारीको नाम राखेर संचालित साहु तन्त्र हो मुखिया तन्त्र हो।  मलाई लाग्दैन कुनै पनि सहकारीकर्मिको सोच सदस्यलाई उठिबास लगाउने खालको हुन्छ भनेर। सहकारीकर्मीहरु यस्ता कुरामा पिल्सिएका मात्र हुन् । सदस्यले पनि संस्थालाई आफ्नो ढुङ्ग्रो भर्ने, स्वार्थ पुरा गर्ने मात्र हेतुले हेर्नु भएन। नीति नियम बमोजिम चल्नु पर्यो। ऋण लिएर कबुल गरे अनुरुप लगानी गर्नुपर्यो त्यहाँ उत्पादन बाट कबुल गरे अनुसार नै भुक्तानी गर्नु पर्यो। संस्थाले फोन गर्दा, भेट्न आउदा भाग्ने हैन आफ्नो समस्या बुझाउने हो अनि संस्थासँग सहकार्य गर्दै अघि बढ्ने हो । संस्थाबाट भागेर सम्पर्क बिहिन भएमा संस्थाले सदस्यको बचतको सुरक्षाको लागि भए पनि कानुनी उपचार अघि बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सहकारीलाई नकारात्मक लान्छाना लगाउने काम हुने गरेको हो भन्ने मलाई लाग्छ । तिनै सदस्यहरु जो बैंकसँग डराउछन् र असल बन्ने प्रयत्न गर्छन तर सहकारी आफ्नै ठाउँको आफुले चिनेकोहरु त हुन् भनि दोश्रो प्राथमिकतामा राख्ने गर्छन । यस्तो कार्यले सहकारीलाई समस्या परेको कसैले बुझी नै रहेको हुदैन। खराब ऋण सकार्न बैंकले धितो जमानत लिलामी गर्दा समाचार बन्दैन तर सोहि काम सहकारीले गर्दा समाचार बनाइन्छ । यो सब सहकारीप्रति वितृष्णा बढाउन गरेको तिकडदम हो वा सहकारीका सदस्यले त्यस्तो कार्यको अपेक्षा नगरेको हो । अपेक्षा नगरेको हो भने सदस्यले आफ्नो बचतको सुरक्षा कसरी हुन्छ भन्ने पनि सोच्नु पर्यो । सहकारीको समस्या समाधान गर्न सदस्य नै जागरुक हुनुपर्दछ । मेरो पैसाको लागि मात्र हैन। हाम्रो सहकारीको लागि अरु सदस्यको लागि पनि असल बन्नु पर्छ भन्ने सोचको बिकास हुनुपर्दछ।
० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
सहकारी ऐनमा भएको मुख्य कारोबार सम्बन्धि ७०ः३० को ब्यबस्था अहिले नै चाहि अलि अब्यबहारिक छ जस्तो लाग्छ । विशेष गरि ग्रामिण क्षेत्रमा जहाँ बैंकको उपस्थिति छैन । वित्तीय सहकारीको उपस्थिति छैन वा भएका पनि नीति बमोजिम चलेका छैनन् भने त्यहाँ स्थापित सहकारीले वित्तीय सेवा दिनु जरुरी हुन्छ । एकै पटकमा ७०ः३० को कार्यान्वयनको सम्भावना म चाहिँ देख्दिन । यस्तो ब्यबस्था कार्यान्वयनमा गएमा ९९% सहकारीहरु बचत तथा ऋणमा परिणत हुनुपर्ने हुन्छ । यसलाई उद्धेश्य अनुरुप कार्य अघि बढाउन उत्प्रेरणा तथा सहजिकरणको ब्यबस्था गर्नुपर्ने हुन्छ । विस्तारै नाम अनुसारको मुख्य कारोबार बढाउदै लान चाहि जरुरी छ। सहकारीहरु उत्पादनमा नजोडीकन आगामी पुस्ताको भविष्य देख्दिन। जुन पनि सहकारीले पैसाको मात्र कारोबार गरेर बस्ने भन्ने कुरामा म चाहि सहमत छैन। त्यसैले त अहिले बहुउद्धेश्यीय सहकारीको नेतृत्व गर्न आइपुगेको छु । दोहोरो सदस्यता अन्त्यको विषयमा म चाहि सकारात्मक छु । धेरै छनौटको अवसर भयो भने कतै पनि राम्रो हुदैन । यता नभए उता जान्छु, उता नभए त्यता जान्छु भन्ने सोच, यताबाट ल्याउने, उता तिर्ने, उताबाट ल्याउने त्यता तिर्ने वा सबै तिरबाट लिने अनि बेपत्ता हुने । यो भयङ्कर समस्या देखा परिसकेको छ । विशेष गरि सहरी क्षेत्रमा पसल पसलमा खाता संचालन गर्दै हिड्नाले एउटा पसलमा १०-१२ वटा सम्म सहकारीको पासबुक देख्न सकिन्छ यो बिकृति भयो । यसको अन्त्य हुनु पर्दछ भन्ने मलाई लाग्छ । अनि बल्ल सहकारीका सदस्यले यो मेरो पनि सहकारी हो । यसको नीति नियम मान्नु पर्छ । संस्थाको प्रगति भनेको मेरो पनि उन्नति हो भन्ने कुराको महशुस हुन्छ। अनि बल्ल सहकारी, सहकारी जस्तो हुन्छ ।
० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
केहि बदमासीहरु होलान तर साना साना गल्तीहरुले राम्रा संस्थाहरु पनि ताला लाग्न बाध्य भएका छन् । विशेष गरि तरलता ब्यबस्थापन गर्न नसक्नु र सदस्यसँग जोडिन नसक्नु नै यसको मुख्य कारण हो । मलाइ लाग्दैन सबै सहकारीका संचालकले बचत कुम्ल्याएर भागेका छन् भनेर । कतिले गलत ठाउँमा लगानी गरे होला, कतिले आफ्नो मात्र स्वार्थ पुरा गर्ने व्यवसायमा लगानी गरे होलान ति संस्थामा समस्या आएको छ र उनीहरु भाग्न बाध्य भएका छन् । यसबाट सदस्यहरुले पनि पाठ सिक्नुपर्ने हुन्छ । आफ्नो पैसा कतै जम्मा गरिएको छ भने त्यस्तो संस्थाको नीति नियम, कारोवार विवरण, निर्णय प्रक्रियामा व्यक्तिगत हावी छ वा सामुहिक निर्णय हुन्छ ? संचालक र कर्मचारीको आचरण पनि बुझ्ने गर्नु पर्यो नकि यसले सबै भन्दा बढी ब्याज दिन्छ भनेर झुम्मिने ।
सदस्यले चुनेर संचालक बनाउने कानुनी ब्यबस्था अनुरुप संचालक कतै उम्किन सक्ने अवस्था छैन। सहकारीकर्मीहरु जिम्मेवारीबाट भाग्न कदापि पाइदैन तर संचालकलाई राज्यले कानुनी उपचारमा सहयोग गरिदिनु पर्छ ।
० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
संस्थाले नाफा कमाउनु नराम्रो हो र ? कमाएको नाफा तिनै सदस्यलाई नै त वितरण हुने हो । अझ नाफामा योगदान गरेवापत संरक्षित पुजि फिर्ता कोषबाट थप लाभ दिएकै छ । सदस्यलाई मार नपारी अन्य भन्दा थप सुविधा दिएर, सदस्यलाई सेवा दिएर नाफा कमाएको छ भने नराम्रो सोच्नु भएन । मुख्यतः नाफा कमाउनु नै पहिलो उद्धेश्य हुनु भएन, ऋणी सदस्यको ढाड भाचेर नाफा कमाउनु भएन । आज पनि हामि बैंकको भन्दा कम ब्याजदरमा लगानी गर्छौं । धेरै जसो ऋण १४% ब्याजदरमा लगानी गरेका छौं तर पनि १६ करोडको संस्थाले १ करोड भन्दा बढीको मुनाफा कमाउन सक्छ भन्ने प्रमाणित गरेका छौं । मुख्य कुरा संचालक, कर्मचारीहरु विलासी, लोभी हुनु भएन, आवश्यक ठाउमा मात्र खर्च गर्नु पर्यो, सदस्य शिक्षा र समुदाय लक्षित कार्यक्रम ल्याउनुपर्यो । त्यसपछि सहकारीको नाफा आफै आउछ । हामि सोहि नाफालाई सदुपयोग गरि सदस्यलाई राहतका कार्यक्रम ल्याउछौं । त्यसैले हामि बैंक भन्दा फरक छौं ।
० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ? सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
सहकारीका समस्या साच्चै भएको भन्दा बढी प्रचार भएकोले म यो विषयलाई बोल्न चाहिन । हामि समाधानका उपायहरु सोचौं । सहकारी समस्या समाधान कार्यदलले दिएको सकारात्मक सुझावको कार्यान्वनमा सघाउ पुर्याऔं । हामि सबै सदस्यसँग जोडिदै अघि बढौं भन्छु । अहिलेको युवा पुस्ता कुनै पनि ठाउँमा बसेर कुनै पनि काम मोबाइलबाट गर्न चाहान्छ सुरक्षित रुपमा प्रविधिमा नजोडीइ युवा पुस्ताको सहकारीमा रुची बढ्ला भन्ने लाग्दैन । सहकारीकर्मीले नेतृत्वमा पनि युवा पुस्तालाई तयार गर्दै लानुपर्ने हुन्छ ।  शिक्षा तथा तालिममा युवालाई जोडदै लानुपर्ने हुन्छ ।
० भावी योजनाहरु के छन् ?
हामि विगतमा झैँ अझ बढी सदस्यसँग जोडिने छौं । सदस्यको माग, संस्थाको उद्धेश्य अनुरुप कार्य अघि बढाउन भवन निर्माणको लागि कार्य अघि बढाउदै छौं । सुपथ मूल्य पसलको अझ राम्रो ब्यबस्थापन गर्नेछौं । सदस्यलाई राहतका कार्यक्रम थप्दै लानेछौं । विशेष त बहुउद्धेश्यीय कार्यहरु अघि बढाउदै प्रविधिमा सहकारीलाई जोड्दै युवा पुस्ताको लागि ठुलो ढोका खोल्दै जानेछौं ।
० अन्तमा ?
सबै भन्दा पहिला त चौंरीदेउराली माझिफेदामा सहकारी आवश्यक छ भनि २०६४ सालमा दर्ता गर्ने सबै महान व्यक्तिहरुलाई धन्यवाद भन्न चाहान्छु । त्यसपछि संस्थाको १६ औं वार्षिक साधारण सभा सम्म आइपुग्दा विभिन्न आरोह अवरोहमा पनि संस्थालाई निरन्तर प्रगतिपथमा अघि बढाउन नेतृत्व गर्नुहुने सबै पदाधिकारीज्यूहरु कर्मचारीहरु र सदस्य लाई हार्दिक धन्यवाद भन्न चाहान्छु । हामिमा कुनै पनि व्यक्तिगत लोभलालच छैन। संस्था र सदस्यको हितका कार्यहरु अघि बढाउदै गएका छौं । होस्टेमा हैसे गरिदिनुहुन साथै ठुलो, बलियो र सदस्य र समुदाय लक्षित सहकारी बनाउने अभियानमा जोडिन चाहानुहुने सबै सहकारीहरू र सहकारीकर्मिलाई स्वागत पनि गर्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….