धुलिखेल – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले जिल्लाका अधिकांश सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको संविधानमा भएका ब्यवस्था तथा संविधान पछि बनेका कानूनहरुका बारेमा ‘गुणस्तरीय र निशुल्क शिक्षा आजको आवश्यकता’ नामक विषयमा बहस पैरवी शुरु गरेको छ ।
‘हामी जिल्लाका सबै विद्यार्थीहरुलाई कानूनी साक्षरता सहितको बहस, पैरवीसँगै संगठित गर्ने अभियानमा छौं’–अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले भने–‘१ सय ४१ वटा सामुदायिक विद्यालय मध्ये ६१ वटामा पुगिसकेका छौं । १६ वटा सामुदायिक क्याम्पस मध्ये १३ वटामा कमिटी गठन भईसकेका छन् ।’ जिल्लाका ४ हजार भन्दा धेरै विद्यार्थीहरुलाई अनेरास्ववियुमा आवद्ध गर्दै संविधानले गरेका ब्यवस्था, विद्यार्थी हक हित तथा निशुल्क शिक्षाका लागि भएका कानूनी ब्यवस्था र अधिकारका लागि संगठित गरिरहेको अनेरास्ववियुले बताएको छ । बुधबारसम्ममा अनेरास्ववियुले ७१ वटा मावी र १३ वटा क्याम्पसमा प्रारम्भिक कमिटी गठन गरिसकेको छ । कमिटीमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु आवद्ध छन् ।
अभियानमा अध्यक्ष मिलनकुमार गौतम, उपाध्यक्ष दिपेश केसी, आर्दश न्यौपाने, दिपेश तिमल्सिना रहेका छन् भने सचिव विमला तिमल्सिना, कोषाध्यक्ष सौगात अधिकारी लगायतको टिम सक्रिय छ । प्रचार तथा महिला विभागका प्रमुखहरु, जिल्ला इन्चार्ज सुमन जैरु पनि अभियानमा जोडिएका छन् । अभियानसँगै अनेरास्ववियुले रचनात्मक कृयाकलाप गरिरहेको छ । फुटसल, बक्तृत्वकला, मौलिक हक सम्वन्धी कानूनी सचेतना कार्यक्रम पनि संचालन गरिरहेको अध्यक्ष गौतमले बताए । निवन्ध लेखन प्रतियोगिता, टिकटक प्रतिस्पर्धा, एसईई उर्तिण विद्यार्थी सम्मान, पुरातात्विक, संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहितको मौलिकता संरक्षण कार्यक्रम, एक प्रारम्भिक कमिटी एक रचनात्मक कार्यक्रम, एक पालिका एक रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रारम्भिक कमिटी, पालिका कमिटी र जिल्ला कमिटीलाई सक्रिय बनाउँदै विद्यार्थीहरुको हक हित र अधिकारका लागि अखिल सप्ताह बनाउने तयारी भएको अध्यक्ष गौतमले बताए ।
‘विभिन्न १५ विद्यामा प्रतिस्पर्धा गराउने उदेश्यले अखिल सप्ताहको आयोजना गर्ने तयारी गरेका छौं’–अध्यक्ष गौतमले भने–‘गुणस्तरीय र निशुल्क शिक्षा आजको आवश्यकता भन्ने शिर्षकमा बहस पैरवी, राजनीतिक अभियान तथा विद्यार्थीहरुको हितका खातिर सक्रिय छौं ।’ २०८० जेष्ठ १ गते विद्यार्थी दिवसको दिन ३० औ अध्यक्षका रुपमा निर्वाचित मिलनकुमार गौतम नेतृत्वको टिमले एनसेलको शेयर खरिद विक्री प्रकरणमा ‘स्वाहा कार्यक्रम’, नागरिकता विधेयक विरुद्ध पुत्ला दहन, राष्ट्रपतिले हत्यारा रिगल ढकालको कैद मिनाहा गरेको विरुद्धमा आन्दोलन, बालबालिका माथी विद्यालय तहमा हुने गरेको हिंसा विरुद्धको सचेतना कार्यक्रम, बालबालिकाहरु मार्फत गोप्य सुझाव संकलन कार्यक्रम, राष्ट्रपतिको उपचारमा प्रत्येक नागरिकसँग १ रुपैया सहयोग संकलन, मुल्यबृद्धी तथा शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र हस्तान्तरण, सार्वजनिक यातायातमा भाडा छुट लगायतका विषयमा अनुगमन र कार्यान्वयनमा दबाब, ट्राफिक प्रहरी सँगको समन्वयमा सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको अध्यक्ष गौतमले बताए ।
अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरुका लागि ४५ प्रतिशत भाडा छुट, मनोरञ्जन शुल्कमा ५० प्रतिशत छुट, प्रमाणपत्र धितो राखेर ऋण, विश्वविद्यालयमा बोर्ड अफ ट्रष्टी लगायतका राष्ट्रिय मुद्दा सफल भएका थिए ।
– सबै विद्यालय र क्याम्पसमा संगठन
– ४ हजार विद्यार्थीलाई संगठित गराउँदै
– रचनात्मक कृयाकलापमा अब्बल