काभ्रेपलान्चोक – बनेपामा मेयर कप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना, नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा चैत २ र ३ गते बनेपा लायकु मञ्चमा प्रतियोगिता सञ्चालन हुने भएको छ।
प्रतियोगितामा काभ्रे जिल्लाभरीका करिव २५० देखी ३ सय जनासम्म खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीहरुले २१ वटा इभेन्टमा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
जसमा पुरुषतर्फ ११ इभेन्ट हुनेछ भने महिलातर्फ १० इभेन्ट हुने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिए । उनका अनुसार प्रति खेलाडी २ सय दर्ता शुल्क तोकिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका काभ्रेका अध्यक्ष तथा प्रतियोगिताका प्रचारप्रसार संयोजक नवराज मानन्धरले नैतिक शिक्षा सहितको खेल सञ्चालन गरिरहेको बताएका छन । हरेक विद्यालयमा कराँते खेल सुरु गरिएको उनले बताए । असल नागरिक उत्पादनमा समेत खेल क्षेत्रले सहयोग गर्ने उनको भनाई छ । अन्तराष्ट्रिय खेल जगतमा समेत कराँतेले आफ्नो नाम राख्न सफल भएको मानन्धरले बताए । प्रतियोगितामा २० केजी तौलदेखीले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि ९ लाख १३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि ५१ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ । मुल समारोह समितिको अध्यक्षमा काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर रहेका छन् भने कार्यक्रम संयोजक महासचिव श्यामसुन्दर कुँवर रहेका छन । यस्तै १० वटा उप–समिति गठन गरिएको छ ।