काठमाडौं । चलचित्र निर्देशक माधवराज खरेलको निर्देशनमा लघुचलचित्र ‘मृत्युकोष’को छायांकन सम्पन्न भएको छ । एकजना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरूलाई चलचित्रमा उठान गरिएको निर्देशक खरेलले जानकारी दिनुभयो । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरूको प्रवास पलायनको प्रमुख मारमा वृद्धवृद्धाहरू पर्ने गरेका छन् ।
यसै विषय वस्तुभित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाका लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताउनुभयो । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुसाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दीपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा.राजीव यादव, सौरीका खरेल, राधिका खरेललगायतको अभिनय देख्न सकिनेछ ।
एरा प्रोडक्सनको प्रस्तुति र सञ्चारकर्मी कमला जोशी निर्माता रहेको उक्त चलचित्रलाई खरेलले नै लेख्नुभयो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनुभएका खरेलले नेपालको पहिलो मौन चलचित्र ‘ढुङ्गे युग, बिरानो माया, ढुंगे युग २, कुइँनेटो, दुर्गामाण्डौ, हेवे करैते भोर, गढीमाई, चिठ्ठी’लगायत चलचित्रहरूको निर्देशन गरिसक्नु भएको छ । चिठ्ठी प्रदर्शनको तैयारीमा रहेको छ ।
काठमाडौं ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायांकन गरिएको ‘मृत्युकोष’लाई मुकेश हुँमागाईंले खिच्नुभएको हो भने उहाँलाई छायांकार राजन खरेलले साथ दिनुभएको छ । चलचित्रमा विक्रम गौतमको मेकअप रहेको छ ।