काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे जिल्ला समितिले दोस्रो स्थापना दिवस भब्यताको रूपमा मनाएको छ ।
धुलिखेलमा जिल्ला सभापति प्रवीण कुमार ढकालको अध्यक्षतामा चियापान तथा शुभकामना आदनप्रदान गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रममा जिल्ला स्थित प्रमुख राजनीतिक दललाई समेत निमन्त्रण गरिएको थियो ।
कार्यक्रममा बोल्दै एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले नयाँ शक्तिको रूपमा स्थापित हुँदै गर्दा नयाँपनको आभास दिन सक्नु पर्ने बताए । बेथिती मुक्त देश निर्माणमा सबैको ध्यान जान उनले आग्रह गरे ।
त्यस्तै नेकपा (एस) काभ्रेका उपाध्यक्ष रघुबर चौप्रधानले रास्वपा नेपाली जनताले खोजे अनुसारको पार्टी बन्नु पर्नेमा जोड दिए । उनले अवसरवादी र पद लोलुप्ताहरूको पार्टी नबन्न शुभकामना दिए ।
रास्वपाका बागती प्रदेश समिति सदस्य बसुनारायण श्रेष्ठ, रास्वपा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सभापति तारा बहादुर कुँवर र क्षेत्रीय सदस्य जिएन सापकोटाले जिल्लामा पार्टी प्रति उत्साह थपिएको भन्दै अब आफ्नै पार्टीभित्रका नेताहरूको समेत खबरदारी गर्न डराउन नहुने बताएका छन् । कार्यक्रममा जिल्लाका विभिन्न पालिका र वडाहरुमा गठन भएका रास्वपा समितिका पदाधिकारी उपस्थित थिए ।
जिल्ला सभापति ढकालका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको १३ मध्ये ११ वटा पालिका स्तरीय पार्टीको समिति गठन भैसकेको छ । त्यसैगरी १३५ वटा वडा मध्ये ६३ वटा वडा स्तरीय समिति गठन भएका छन् । अब छिट्टै पालिका र वडा स्तरीय अधिवेशन गरिने सभापति ढकालले जानकारी दिए ।