आज श्रावण महिनाको पहिलो सोमबार, नेपालीहरुमा श्रावण महिना र सोमबारको विशेष महत्व रहेको पाइन्छ । नेपालीहरु स्वभावैले धर्मपरायण छन् । विशेष गरी नेपाली महिलाहरु पूजा गर्नु एवं व्रत बस्नुलाई आफ्नो नियमित कर्तव्य मान्छन् । यस्ता विभिन्न धार्मिक कार्यमध्ये साउन महिनाको सोमबारे व्रत पनि प्रमुख हो ।
सामान्यतया भोजन नगरी निराहार बस्नुलाई नै व्रत भनिन्छ । यसको धार्मिक मात्र नभएर वैज्ञानिक महत्व पनि छ । व्रत वा उपवासले स्वास्थ्यमा समेत सकरात्मक असर पार्छ । त्यसैले दीर्घ जीवन प्राप्तिका लागि महत्वपूर्ण सहयोग गर्छ । हाम्रा धार्मिक ग्रन्थहरुमा व्रतका विभिन्न विधान उल्लेख छन्, जसमा नियमको पालना गरी श्रद्धाले पूजा–अर्चनाका साथै कथा श्रवण गरिन्छ । शास्त्रमा विभिन्न व्रतलाई विभिन्न प्रकारले विभाजन गर्दै सबैका विधि विधान उल्लेख गरिएको छ । तिथि व्रत, बार व्रत, स–व्रत, नक्षत्र व्रत आदि व्रतका विशेषता एवं नियम उल्लेख छन् । यी व्रतलाई ध्यान दिएर अध्ययन गर्ने हो भने सबैको उद्देश्य एउटै छ । आफ्नो मनलाई पवित्र पारेर इन्द्रियहरुलाई नियन्त्रणमा राख्नु ।
गीतामा व्रतका सम्बन्धमा उल्लेख गरिएको श्लोक यस्तो छः
विषयमा विनिवर्तन्ते निराहारस्य देहिः ।
राजवर्ज रसोप्यस्व परं दृष्टवा निवर्तते ।।
निराहार बस्नाले मानिस विष निवृत्त हुन्छ । साउनको व्रतलाई मास व्रत पनि भनिन्छ भने यसलाई बार व्रत पनि भनिन्छ । साउन महिनाभरि व्रत बस्नु शुभ मानिन्छ । महिनाभरि सम्भव नभए शिवको प्रिय दिन सोमबार ब्रत बस्नु उपयुक्त हुने कुरा शिवपुराणमा उल्लेख छ । धार्मिक मान्यताअनुसार सोमबार शिवको ध्यान गर्नाले आफूले चिताएको कुरा पुग्छ । अन्य व्रतमा फलाहार गर्न मिल्छ भने शिवको व्रत निराहार बस्नुपर्छ ।
सोमबारको व्रतमा बिहानको सुर्योदयअघि नै स्नान र सन्ध्यापछि व्रतका संकल्प गर्नुपर्छ । साँझ सुर्यास्त भएपछि करिब एक घन्टा अर्थात् दुई घडीसम्म शिवपूजा गरिन्छ । यस्तो व्रत बस्दा धेरै फाइदा हुन्छ । निराहार व्रत बस्नाले अजीर्ण, टाउको दुख्ने, ज्वरो आउने समस्याबाट मुक्ति हुने कुरा धर्मग्रन्थहरुमा उल्लेख छ । व्रतमा अन्न खानुहुँदैन । सिधै नुन मात्र प्रयोग गर्नुपर्छ, नुन अशुद्ध होइन । पहिले नुन गैर हिन्दुले तिब्बतबाट बोकेर ल्याउने हुनाले व्रतमा नुन खानु हुँदैन भन्ने नियम बसेको अनुमान गर्न सकिन्छ । अहिले प्याकेट बन्द नुन उपलब्ध हुन थालेपछि कतिपयले यसलाई चोखो मानेर खान थालेको पाइन्छ । यस अर्थमा अहिले व्रतमा नुन खानु नखानु आफ्नो विवेकमा भर पर्ने कुरा भएको छ । व्रतमा दाल खानुहुँदैन भन्ने चलन छ । यसलाई पालन गर्नुपर्छ । सकेसम्म फलाहार गर्नुपर्छ । साउन महिनामा तोरी, मूला तथा पालुगोको साग खान निषेध गरिएको छ । शिवको पूजा, आराधना एवं ध्यान हिन्दू समाजमा परम्परादेखि चल्दै आएको चलन हो । साउन महिनाको सोमबार पशुपति लगायतका शिव मन्दिरहरुमा हजारौं महिला लामो लाइनमा बसेर शिवभक्ति प्रकट गर्छन् जुन हाम्रो सांस्कृतिक परिचय पनि भएको छ ।