प्रधानमन्त्री ओलीले नेकपा (एमाले)को ३४औं सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहणका लागि पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भइरहेको भन्नुहुँदै उहाँले मुलुक र जनताको आवश्यकता बमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो– लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन संविधान संशोधन गर्ने हो । संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौं । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौं ।