हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।
डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने हुन्छ । हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने छ । –नव क्षितिज साप्ताहिकबाट
बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ
