बाँके । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा मङ्गलबार सम्पन्न भएको छ ।

सोमबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य, बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो ।

महासचिव पोखरेलले प्रशिक्षण मन्तव्य राख्दै मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि गठबन्धन बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो– संविधान र कानूनमा समयानुकूल सुधारका लागि अहिले राजनीतिक रूपमा अनुकुूलता रहेको छ, वर्तमान सरकारसँग जनताले आशा र अपेक्षा पनि गरेका छन् ।

राजनीतिक अस्थिरताले देश विकासमा अवरोध भएको भन्दै उहाँले राजनीतिक पार्टी बलियो हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
आर्थिक विकास र समृद्धिका लागि विगतमा माओवादीसँग पार्टी एकता गरिएको भएपनि असफल भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले पार्टीको १०औ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले माक्र्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुहुँदै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न खोजिएकाले जबजको सान्दर्भिकता झनै बढेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय विषयमा प्रशिक्षण दिनुभयो ।

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा केन्द्रीय सदस्य चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टीपङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व् यवस्थापन शैली र कला विषयमा तथा केन्द्रीय सदस्य सूर्य ढकालले सहजीकरण गर्नुभएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरी १५० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….