बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष एवं प्रमुख अतिथि अमन पोटेले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने सचिव होमनाथ ढुंगेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले वार्षिक आयव्यय विवरणका साथै आगामी वर्षको लागि बजेट प्रस्तुत गरेका छन् । त्यस्तै लेखा समिति संयोजक मोटुप्रसाद सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
आ.व. २०८०/८१ मा संस्थाका सेयर सदस्य ९ हजार १ सय १९ पुगेको छ । त्यस्तै सेयर पुँजी २५ करोड ३६ लाख १६ हजार ६ सय, जगेडा कोष ११ करोड ७८ लाख ३८ हजार ९ सय ४९, निक्षेप १ अर्ब ८३ करोड ८२ लाख ८४ हजार २ सय ६६ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसैगरी साधारणसभाले गोपालप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास शर्मा तिमल्सिना र सदस्यहरुमा मुक्तिनाथ तिमल्सिना, लक्ष्मणप्रसाद पौडेल, सुधा दाहाल, रञ्जु दाहाल, शोभा गौतम, राजेश तिमल्सिना र सूर्यप्रसाद काफ्ले चयन भएका छन् भने लेखा तथा सुपरीवेक्षण समितिमा लेखा संयोजक देवप्रसाद कोईराला र सदस्यहरुमा सुन्दर श्रेष्ठ, कमला सापकोटा रहेका छन् ।
साधारण सभामा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक उपेन्द्र दाहाल, समृद्धि सहकारीका अध्यक्ष साधुराम दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले सहकारीको हालका चुनौतीहरुका विषयमा चर्चा गरिएको थियो । सोही अवसरमा गायक धनपति दाहालले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पनौती सेवा कार्यालयलाई उत्कृष्ट सेवा कार्यालयको रुपमा सम्मान गरिएको थियो । संस्थाको ७ वटा सेवा केन्द्रमार्फत् ९ हजार भन्दा बढी सदस्यहरुलाई सेवा प्रवाह गरिँदै आएको छ ।