बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तीन महिने विशेष वडा केन्द्रीत जरा अभियान संचालन गर्ने भएको छ । आईतबार एमाले काभ्रेको चौथो बैठकले जरा अभियान संचालनको कार्यायोजना पारित गरेसँगै अब एमाले काभ्रे वडाको पनि टोल स्तरमा केन्द्रीत हुने जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले जानकारी दिनुभयो ।
अभियानका क्रममा बाँकी रहेका पालिका, वडा र टोल कमिटीको अधिबेशन गर्ने, अधिबेशन भएका वडामा बैठक राख्ने र पार्टीका गतिविधिलाई चयलायमान बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकले हरेक पालिकामा सदस्यता नविकरण गर्ने र पार्टीमा युवा सदस्यहरुको संख्यामा विस्तार गर्दै युवालाई नेतृत्व जिम्मेवारी प्रदान गर्ने विशेष अभियान संचालन गर्नेछ ।
एक हिसाबले प्रत्येक टोलबाट युवाको संख्या पार्टीमा भित्राउने विशेष योजना अभियानले बोक्ने अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो । पार्टीसँगै जनसंगठनकका पालिका, वडा र टोल कमिटीको विस्ता गर्ने कार्ययोजना बैठकले गरेको छ । अभियानका क्रममा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने जेष्ठ कम्युनिस्ट सदस्यहरुको सम्मान र उहाँहरुको योगदानको उच्च कदर गर्ने कार्ययोजना बैठकले गरेको छ ।
जरा अभियानको क्रममा एमालेका तल्ला कमिटीहरु जनश्रम संचालन गर्ने र युवाहरुका लागि खेलकुद गतिविधि समेत संचालन गर्ने निर्णय गर्दै बैठकले कार्ययोजना बनाएको छ ।
एमालेले लिएको समृद्धिको योजनालाई साकार पार्न, एमालेले आफूसँगै निर्वाचित हुनुभएका जनप्रतिनिधिलाई पनि जरा अभियानमा सँगसँगै लिएर जाने भएको छ । तीन महिने अभियानले एमाले काभ्रेका १३५ वडाका हरेक टोलटोलमा पुगेर कार्ययोजना अनुसारको काम गर्ने अध्यक्ष भुर्तेलले बताउनुभयो । यसले पार्टीलाई अझ चलायमान बनाउने र एमालेले लक्ष्य लिएको मिशन ०८४ का लागि तयारी हुने भुर्तेेलले उल्लेख गर्नुभयो ।
बैठकमा एमालेका स्थायी कमिटीका सदस्य डा.राजन भट्टराई, पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा, केन्द्रीय सदस्य रेशम लामा, बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवालको उपस्थितीमा कार्ययोजना निर्माण गरिएको हो ।