बनेपा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सम्पूर्णमा आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसैले अझै पनि संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउनुपर्ने हुन्छ ।
डा. अधिकारीले अफ्रिकी महादेशमा कोभिड–१९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिने गरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरु जन्मिनसक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरी खोप लगाएको भएपनि, नलगाएको भएपनि, संक्रमणबाट मुक्त भएको भएपनि, नभए पनि त्यस्तो अवस्थामा संक्रमण फैलन सक्छ भन्दै आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको जोड छ ।
पछिल्लो समय संक्रमण दर घटेको छ काभ्रेमा पनि । काभ्रेमा हिजो २ जना संक्रमित संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार योसँगै जिल्लामा उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३ सय ४८ पुगेको छ । जिल्लामा केही दिन यता नयाँ कोरोना संक्रमितको संख्या शून्य रहेको छ । काभ्रेमा अहिले कुल कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ५४ रहेको छ । काभ्रेमा अहिले ९ जना महिला र २ जना पुरुष गरी ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्लामा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । –नव क्षितिज साप्ताहिकबाट